राजनिती

त्रिशंकु संसदले जनता र राष्ट्रलाई कुनै समाधान दिन सकेन : झलनाथ खनाल

By अर्जुन भट्टराई

काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका नेता झलनाथ खनालले त्रिशंकु संसदले जनता र राष्ट्रलाई कुनै समाधान दिन नसकेको बताएका छन् । उनले दलाल पुँजीवाद र त्यसलाई प्रतिनिधित्व गर्ने प्रतिक्रियावादी शक्तिविरुद्ध निशाना केन्द्रित गर्न पनि आह्वान गरेका छन् ।

अनेरास्ववियूको ५९औं स्थापना दिवस एवं युवा संघ नेपालको ३४ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै खनालले बढ्दो श्रमजीवि युवाहरु विदेश पलायन भइरहे पनि त्रिशंकु संसदले समाधान दिन नसकेको बताएका हुन् ।

देश समाजवादी क्रान्ति र रुपान्तरणको युगमा प्रवेश गरे पनि चौतर्फी संकटबाट गुज्रिरहेको उल्लेख गर्दै खनालले भनेका छन्, ‘भ्रष्टाचाररुपी अजिङ्गरले सिंगो समाजलाई सास फेर्न नसक्ने गरी बेरिरहेको छ । बढ्दो बेरोजगारी र शैक्षिक दिशाहीनताले देशका होनाहार श्रमजीवि युवाहरु खाडी मुलुक र मलेसिया तथा युवा बिधार्थीहरु अस्ट्रेलिया तिर लाग्न बाध्य भइरहेका छन् । त्रिशंकु संसदले जनता र राष्ट्रलाई कुनै समाधान दिन सकिरहेको छैन ।’

यस्तो अवस्थामा देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक र समाजवादी युवाहरु एकजुट हुनु जरुरी रहेको खनालले बताएका छन् । तर अझैसम्म देशका कतिपय वामपन्थी शक्तिहरु मुलुकको प्रधान अन्तर्विरोध के हो र मुख्य निशाना के हो भन्ने कुरामा नै अन्योलग्रस्त र दिशाहीन देखिएको खनालको भनाइ छ ।

सम्पूर्ण समस्या, बिकार र विकृतिको एकमात्र समाधान समाजवाद हो भन्दै खनालले समाजवादले मात्र शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारीलाई पनि समाधान गर्नसक्ने उल्लेख गरेका छन् । त्यसैले यात्रा समृद्धिको र लक्ष्य समाजवादको भन्ने मूल नारालाई दृढतापूर्वक समात्न आग्रह गर्दै खनालले भनेका छन्, ‘समाजको प्रधान अन्तर्विरोध र प्रमुख निशानालाई होसियारीपूर्वक ठम्याऔ । दलाल पुजीवाद र त्यसलाई प्रतिनिधित्व गर्ने मुख्य प्रतिक्रियावादी शक्तिका विरुद्ध निशाना केन्द्रित गरौं ।’

उनले प्रगतिशील, न्यायप्रेमी, लोकतान्त्रिक, देशभक्त र समाजवादी युवा विद्यार्थीहरुलाई नयाँ चिन्तन, सकृयता र अग्रगतिका निम्ति शुभकामना समेत दिएका छन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.