समाचार

मङ्सिरमै तराईमा चिसोको कहर बढ्याे

By अर्जुन भट्टराई

यसपालि मध्य मङ्सिरअघि नै चिसो छिप्पिएको छ। महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मध्य मङ्सिरअघि नै चिसोको कहर बढेको हो। विगत वर्षमा पुस लागेपछि बढ्ने गरेको चिसो हावा बहने क्रम यसपालि भने मङ्सिर मध्यपूर्व नै ह्वात्तै बढेको छ। जारी मङ्सिरको दोस्रो साता प्रारम्भ भएसँगै एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर चिसो हावा लगातार बहिरहेपछि महोत्तरीसहितका मध्यपूर्वी तराईमा जनजीवन कष्टकर बनेको छ।

जिल्लाको मध्य र दक्षिणी भेगमा बिहान हुस्सुले ढाक्दै आएको छ। मध्याह्नसम्म घाम देखिँदैन। यसपछि झल्याकझुलुक देखिने घाम मधुरो हुने र चिसो सिरेटो लगातार चलेपछि यसपालि मङ्सिर निगल्दो नै जाडो निकै बढेको हो। जिल्लाको उत्तरी भेगको पूर्वपश्चिम राजमार्ग वरपर बिहानै घाम झुल्के पनि तुषारोसँगै सिरेटो चल्ने क्रमले चिसो निकै बढाएको छ। मध्य र दक्षिणी भेगमा त मङ्सिर दोस्रो साता लागेसँगै एकाबिहानैदेखि बाक्लो हुस्सुले ढाक्दै आएको छ। मध्याह्नपछि देखिने घाम पनि मधुरो हुँदा यसपालि मध्य मङ्सिरअघि नै जाडो बढेको जलेश्वर नगरपालिका–५ पर्साका रामनारायण राउत जानकारी दिए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.