समाचार

सिद्धेश्वर गुफालाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न पहल

By अर्जुन भट्टराई

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–७ पयरेमा अवस्थित सिद्धेश्वर गुफा प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै आएको छ । पर्यटकीय सम्भावना बोकेर पनि प्रचारप्रसारको अभावमा यस ठाउँका बारेमा धेरैलाई जानकारी हुन सकेको छैन ।


यस ठाउँको प्रचारप्रसार गर्दै धार्मिक गन्तव्यस्थल बनाउन स्थानीय जुटेका छन् । धेरै वर्ष पहिलादेखि रहेको गुफाका बारेमा अधिकांशलाई जानकारी नभएपछि स्थानीय यसको प्रवद्र्धनमा जुटेका हुन् । स्थानीय श्रीभद्र आचार्यले यस ठाउँलाई पर्यटकीयस्थल बनाउन पहल थालिएको जानकारी दिए । उनले भने, “यस गुफाका बारेमा धेरैलाई थाहा छैन, सामाजिक सञ्जालमार्फत पनि हामीले प्रचारप्रसारमा जोड दिएका छौँ, स्थानीय सरकारलाई पनि यस ठाउँको विकासका लागि अनुरोध गरेका छौँ ।”

आचार्यसहितका स्थानीयले केही दिन अगाडि मात्रै गुफाभित्र शिवलिङ्ग, गणेश, नाग, शङ्खलगायत आकृतिसहितको संरचना फेला पारेका थिए । उनले भने, “गुफाभित्र शिवलिङ्ग भएको बारेमा हामीलाई पनि थाहा थिएन, गुफा अवलोकनका क्रममा उक्त शिवलिङ्ग भेटियो, नजिक भएर पनि हामी अन्यौलमा रहेछौँ, शिवलिङ्गमा आफैँ जल चुहिने गरेको छ ।” शिवलिङ्गको माथिपट्टि रहेको ढुङ्गाबाट आफैँ जल चुहिएर शिवलिङ्गमा तपतप झर्ने गरेको उनको भनाइ छ ।

स्थानीयले महाशिवरात्रि पर्वका अवसरमा गुफाभित्र रुद्री लगाएर शिवलिङ्गको प्रतिस्थापन गरेका छन् । सो दिन स्थानीय गुफाभित्रै रातभर बत्ती बालेर जागाराम बसेका थिए । आचार्यले भन्नुभयो, “परापूर्वकालमा यस ठाउँमा भगवान शिवजीले बास गरेको ठाउँ हो, यहाँ एक सय आठ बेलका वृक्ष पनि छन्, यहाँको वस्तुस्थिति हेर्दा शिवको बास थियो भन्नेमा द्विविधा छैन, यसको संरक्षण र प्रवद्र्धन गर्नुपर्छ भनेर हामी जुटेका हौँ ।”

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.