समाचार

विश्वका प्रदूषित सहरको एक नम्बरमा पर्‍याे काठमाडौं

By अर्जुन भट्टराई

काठमाडौं : देशका विभिन्न भागमा लागेको डढेलो र यही सिजनमा कृषि अवशेष जलाउने गरिँदा प्रदूषण ह्वात्तै बढेको छ।

प्रदूषण ह्वात्तै बढ्दा काठमाडौं उपत्यका विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा पहिलो बनेको छ। विश्वका १०१ सहरको रियल टाइम प्रदूषण मापन गर्ने आइक्यु एयर नामक संस्थाका अनुसार शनिबार साँझ काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषित सहर रहेको पाइएको हो।

वायुको गुणस्तर सूचकांक (एक्युआई) मा २०२ अंकसहित शनिबार साँझ काठमाडौंँ विश्वकै विषाक्त हावा भएको सहर पुष्टि भएको छ। प्रदूषणको हिसाबले काठमाडौँपछि नयाँ दिल्ली, थाइल्यान्डको चियाङमाई, भियतनामको हनोई, थाइल्यान्डको बैंकक र बंगलादेशको ढाका क्रमशः दोस्रो, तेस्रो, चौथो र पाचौं नम्बरमा छन्।

वायु प्रदूषणले जनस्वास्थ्यमा पार्ने प्रभावको हिसाबले शून्यदेखि ५०० सम्म विभिन्न तहमा विभाजन गर्दा २०१ देखि ३०० सम्मको एक्युआईलाई वैजनी रङ दिइएको छ। यो मानव स्वास्थ्यका लागि अत्यन्त अस्वस्थकर तह हो।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.