समाचार

निर्वाचनको सातै वटा प्रदेशको रिपोर्ट लिनका लागि सात जना नेताहरुलाई जिम्मा

By अर्जुन भट्टराई

नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनको सातै वटा प्रदेशको रिपोर्ट लिनका लागि सात जना नेताहरुलाई जिम्मा दिएको छ ।

शनिबार काठमाडौंमा बसेको समाजवादीको सचिवालयको २६ औं बैठकले तल्ला कमिटीबाट स्थानीय तहको निर्वाचनको रिपोर्ट लिनका लागि सातै प्रदेशमा केन्द्रीय नेताहरुलाई जिम्मा दिने निर्णय गरेको हो ।

समाजवादीका उपमहासचिव डा. गंगालाल तुलाधरले प्रदेश १ मा जयन्ती राई, मधेस प्रदेशमा रामचन्द्र झा, वागमतीमा गंगालाल तुलाधर, गण्डकीमा प्रमेश हमाल, लुम्बिनीमा डा. विजय पौडेल, कर्णालीमा प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशमा महासचिव बेदुराम भुसाललाई रिपोर्ट लिनका जिम्मा दिइएको र ५ दिनभित्र रिपोर्ट पेश गर्न भनिएको जानकारी दिनुभयो । रिपोर्ट आइसकेपछि एकीकृत रिपोर्ट तयारी गरि पार्टीको बिभिन्न तहमा छलफल गरिने उहाले बताउनुभयो । उहाले संगठनात्मक आधार हुँदाहुँदै पनि गठबन्धनलाई विश्वास गर्दा धोका भएको हो की भन्ने आशंका पैदा भएकाले निर्वाचनको समिक्षा गर्ने निर्णय भएको भन्दै समिक्षा पछि थप निष्कर्ष निकालिने बताउनुभयो ।

त्यस्तै बैठकपछि समाजवादीका सम्मानीत नेता झलनाथ खनालले स्थानीय तहमा गठबन्धनबीच भएको चूनावी तालमेलमा सन्तुष्ट हुने आधार नरहेको बताउनुभयो । उहाले पार्टीभित्र यसको थप समिक्षा हुने धारणा राख्नुभयो ।

बैठक आइतबार पनि जारी रहने र निर्वाचनको समिक्षा, गठबन्धनभित्र समाजवादी र अरु पार्टीको भूमिका तथा आगामी दिनको कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.