नागपञ्चमी पर्व श्रावण शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ । यस दिन घरको मूल ढोकामा नागको चित्र टाँसेर पूजा गर्ने, दूध तथा अन्य पूजासामग्री अर्पण गर्ने परंपरा छ ।
संस्कृतिविद्, अध्यात्म चिन्तक एवम् शिक्षासेवी डा. चिन्तामणि योगीले नागपूजा केवल सर्पको पूजा नभई प्रकृतिको मूल शक्ति र प्रारम्भिक जीवप्रति सम्मान गर्ने नेपाली संस्कृतिको महत्वपूर्ण परम्परा भएको बताए ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले नेपालले नागलाई समेत सम्मान गर्न सिकाएको भन्दै नागपूजालाई मानव र प्रकृतिबीचको सहअस्तित्वको प्रतीकका रूपमा व्याख्या गरे ।
‘दुनियाँले नेपाललाई पाखे भन्यो तर नेपाल यस्तो देश हो, जहाँ नागको पनि पूजा गर्न सिकायो । अस्तित्वलाई सम्मान गर्न सिकायो । धर्तीको पहिलो जीव नाग, जलमा पनि नाग, थलमा पनि नाग, जंगलमा पनि नाग,’ उनले भने ।
योगीका अनुसार हिन्दू दर्शनमा भगवान विष्णुको शेषनागमाथिको शयन र भगवान शिवको गलामा नागको उपस्थितिले पनि नागलाई विशेष शक्ति र अस्तित्वका रूपमा स्वीकार गरिएको देखाउँछ ।
नागपञ्चमीमा पूजा गरिने नागलाई धार्मिक प्रतीकसँगै प्रकृतिको एउटा महत्वपूर्ण हिस्सा मानेर संरक्षण गर्नुपर्ने उनको भनाइ छ ।
योगीले नागपञ्चमीलाई शत्रुतालाई मित्रतामा बदल्ने दर्शनसँग समेत जोडे । नागलाई दूध चढाउने परम्परालाई उनले प्रेम, करुणा र मित्रताको प्रतीकका रूपमा व्याख्या गरे ।
उनले भने, ‘शत्रु मार्ने होइन, शत्रुलाई मित्र बनाउनुस् । शत्रुलाई मित्र बनाउने उपाय नै नागलाई पनि दूध अर्पण गर्ने परम्पराको एउटा सन्देश हो । दूध प्रेमको प्रतीक हो, करुणाको प्रतीक हो, मित्रताको प्रतीक हो ।’
नागपूजाको मूल सन्देश नै प्रकृतिसँग सहअस्तित्व कायम गर्नु रहेको उनले बताए । ‘नागपूजाका माध्यमबाट हामीले आदि शक्ति, मूल प्रकृति शक्ति र सृष्टिको प्रारम्भिक शक्तिलाई सम्मान गरिरहेका छौँ । अहिलेका सर्पलगायत सबै जीवप्रति सम्मान र सहअस्तित्वको भाव राख्नुपर्छ,’ उनले भने ।
