समाचार

जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय

By अर्जुन भट्टराई •

जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय

जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङलगायत क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि कर्णाली प्रदेश सरकारले _सातवटा निर्णय_ गरेको छ । शनिबारको अविरल वर्षापछि रिसाङ क्षेत्रमा गएको पहिरोमा परी _चार जनाको मृत्यु_ भएको छ भने केही नागरिक घाइते भएका छन् र करिब _दुई सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ_ ।

प्रदेश सरकारको निर्णयअनुसार बाढीपहिरोमा परी ज्यान गुमाउने व्यक्तिप्रति _श्रद्धाञ्जली व्यक्त गर्दै_ शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको _शीघ्र स्वास्थ्यलाभको कामना_ गरिएको छ ।

त्यस्तै, भेरी नगरपालिका–२ रिसाङलगायत प्रभावित क्षेत्रमा रहेका नागरिकलाई प्रदेश सरकारको तर्फबाट _आवश्यक राहत सामग्री_ यथाशीघ्र उपलब्ध गराउने निर्णय गरिएको छ । यसअघि प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय जाजरकोटको मागअनुसार _त्रिपाल, ब्ल्याङ्केट, खाद्यान्न, टेन्टलगायत राहत सामग्री_ पठाइसकेको छ ।

_पहिरोबाट घर, पशुपन्छी तथा कृषि बालीमा_ भएको क्षतिको यथार्थ विवरण सम्बन्धित कृषि कार्यालयले जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहसँगको समन्वयमा संकलन गर्ने र त्यसका आधारमा प्रदेशको सम्बन्धित मन्त्रालयले _आवश्यक प्रबन्ध मिलाउने_ निर्णय पनि गरिएको छ ।

पहिरोबाट विस्थापित भएका नागरिकको _स्वास्थ्य उपचारलगायतका आवश्यक व्यवस्थापन_ सामाजिक विकास मन्त्रालयमार्फत गर्ने निर्णय भएको छ । जोखिममा रहेका तथा विस्थापित नागरिकलाई भेरी नगरपालिका–२ स्थित _त्रिभुवन आधारभूत विद्यालयमा_ सुरक्षित रूपमा राखिएको छ ।

विपद्सम्बन्धी प्रतिकार्यका लागि सम्बन्धित क्लस्टरको बैठक सम्बन्धित मन्त्रालयले गर्ने तथा राहत सामग्री वितरण गर्दा जिल्ला प्रशासन कार्यालय जाजरकोटसँग _समन्वय गर्ने_ निर्णय गरिएको छ । उक्त समन्वयको जिम्मेवारी _मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले_ गर्नेछ ।

यस्तै, जाजरकोटलगायत प्रदेशका सबै जिल्लामा अवरुद्ध भएका _राजमार्ग तथा अन्य सडक खुलाउन_ भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले आवश्यक प्रबन्ध गर्ने निर्णय गरिएको छ ।

_पूर्ण रूपमा क्षति भएका आवासको पुनर्निर्माणका लागि_ उपलब्ध गराइने _अस्थायी आवास अनुदान_ यथाशीघ्र उपलब्ध गराउन पहल गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ ।

पहिरोमा परी ज्यान गुमाएका व्यक्तिहरूको यथार्थ विवरण जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट माग गरी प्रदेश सरकारबाट _बीमामार्फत दिइने राहत रकम_ उपलब्ध गराउने प्रक्रिया यथाशीघ्र अघि बढाउने निर्णय गरिएको छ ।

अविरल वर्षा जारी रहेकाले रिसाङलगायत प्रभावित क्षेत्रमा पहिरोको जोखिम अझै कायम रहेको छ । सुरक्षा निकायले जोखिममा रहेका नागरिकको उद्धार तथा सुरक्षित स्थानान्तरणलाई _निरन्तरता दिइरहेका छन्_ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.