नेपालमा लगानी गर्न गैरआवसीय नेपालीहरु (एनआरएनए) उत्साही रहेको भएता पनि, लगानी गर्दा मुख्य रुपमा दुईवटा समस्या भोग्नुपर्ने गरेको बताएका छन्। यि समस्याहरु हुन्: झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षा चिन्ता।
चीनको ग्वाङझाउमा चलिरहेको ११ औँ दक्षिण एसिया प्यासिफिक सम्मेलनमा एनआरएनएका पूर्वअध्यक्ष एवं कोरियालाई कार्यक्षेत्र बनाई सफल व्यवसायी गरिरहेका विनोद कुँबरले नेपालमा काम कम गर्ने अनि गफ वढी गर्ने प्रवृत्ति पनि समस्या भएको बताए। उनले नेपालमा कानुनी प्रक्रिया पनि झन्झटिलो र लामो समयसम्म अल्झनुपर्ने भएको जसले गर्दा लगानीकर्ता निरुत्साहित हुने बताए。
एनआरएनएका पूर्वअध्यक्ष उपेन्द्र महतोले बाहिर रहेका हरेक नेपाली मेरो देश कहिले बन्छ भनेर उनीहरु चिन्तन गरेर बसेको र मैले नगरे कसले गर्छ भन्ने चिन्ता उनीहरुमा देखिएकाले नेपाल सरकारले यसलाई अवसरको रुपमा अघि बढाउनुपर्ने सुझाव दिए।
यसै गरी, बरिष्ठ उपाध्यक्ष रविन शेरचनले नेपालमा लागनीको विषयमा धेरै क्षेत्रहरु भएको केही नयाँ पहिचान गर्नुपर्ने क्षेत्रहरु पनि भएकाले अव लगानी वढाउनुपर्ने बताए। अनुसन्धानकर्ता देवीवहादुर बस्नेतले नेपालमा मेडिकल र प्रोटिन क्षेत्रमा नयाँ इनोभेसनको काम गर्ने अवसर रहेको भएको बताए।
चीनमा रहेका निर्मल शर्मा चौलागाईले नेपाल र चीनका विचमा धेरै काम गर्न सकिने तर पुर्वाधारले समस्या भइरहेको बताए। एनआरएन चीनका पूर्वअध्यक्ष रोहित अग्रवालले कुनैपनि लगानीलाई नाफासँग जोड्न जरुरी हुने र त्यसका लागि कानुनी रुपमै ग्यारेन्टी हुनुपर्ने बताए।
लगानीका क्षेत्रमा लामो समयदेखि अनुसन्धान गरिरहेका अरुणकुमार सुवेदीले नेपालको समस्या हरेक दिन खर्व लगानी गर्ने लगानीकर्ताले नासु र सुब्वालाई दैनिक नमस्कार गर्नुपर्ने भएको बताए। सांसद माधव सापकोटाले लगानीको कुरामात्र भइरहेको तर रेमिट्यान्स कता गइरहेको छ र त्यसलाई लागनीमा किन रुपान्तरण गर्न सकिने भन्नेमा पनि छलफल गर्नुपर्ने बताए। रास्वपाका सांसद खगेन्द्र सुनारले लगानीको वातावरण बनाउने कुरामा रास्वपा सँधै तयार रहेको र आफ्ना घोषणापत्रमा पनि यो कुरा उल्लेख गरेको बताए।
