नेपालको पहिलो ‘**कमेडी एक्ट**’मा आधारित रियालिटी शो ‘**सुपर कमेडी लिग**’को औपचारिक घोषणा गरिएको छ । आइतबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत शोको घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै अभिनेता **राजेश हमाल**ले ‘**सुपर कमेडी लिग**’ आफ्नो लागि अन्य टेलिभिजन कार्यक्रमभन्दा फरक र विशेष रहेको बताए । टेलिभिजन प्रस्तोताका रूपमा लामो समयदेखि काम गर्दै आएपनि कमेडीमा आधारित रियालिटी शोमा सहभागी हुन लागेको यो पहिलो अनुभव भएको उनले बताए । उनले **कमेडी विधा** कलाकारिताको सबैभन्दा चुनौतीपूर्ण विधामध्ये एक भएको उल्लेख गरे । दर्शकलाई हँसाउनु निकै कठिन काम भएको भन्दै उनले कमेडी कलाकारप्रति आफ्नो उच्च सम्मान रहेको बताए । उनले भने, ‘*व्यक्तिलाई भावनामा ल्याएर रुवाउनु वा प्रेमका कुरा गर्नु तुलनात्मक रूपमा सहज हुन सक्छ । तर कमेडी गरेर व्यक्तिलाई हँसाउनु अत्यन्त चुनौतीपूर्ण काम हो । त्यसका लागि विशेष किसिमको हास्यचेत आवश्यक हुन्छ ।*’ ‘**सुपर कमेडी लिग**’मा आफू मुख्य निर्णायकको भूमिकामा रहे पनि प्रतियोगीलाई अंक दिने जिम्मेवारी भने आफ्नो नरहेको **राजेश हमाल**ले स्पष्ट पारे । प्रतियोगीहरूको प्रस्तुति हेरेर आवश्यकताअनुसार सकारात्मक तथा आलोचनात्मक सुझाव दिने उनको भूमिका रहनेछ । शोमा देशभरका विभिन्न सहरबाट कमेडी कलाकार छनोट गरी उनीहरूलाई आफ्नो प्रतिभा तथा प्रस्तुति देखाउने अवसर प्रदान गरिने जनाइएको छ । **नयाँ पुस्ताका कलाकार**सँगै लामो समयदेखि कमेडी क्षेत्रमा सक्रिय **कलाकारहरू**को प्रस्तुतिसमेत हेर्न आफू उत्साहित रहेको **हमाल**ले बताए । उनका अनुसार ‘**सुपर कमेडी लिग**’को अवधारणामाथि करिब एक वर्षदेखि तयारी भइरहेको थियो । कार्यक्रम निर्देशक **आलन श्रेष्ठ**सँग लामो समयदेखि छलफल तथा गृहकार्य गरेपछि शोको औपचारिक घोषणा गरिएको उनले जानकारी दिए । ‘*यो अचानक आएको कार्यक्रम होइन । करिब एक वर्षदेखि यसबारे छलफल र तयारी भइरहेको थियो। अहिले हामी कार्यक्रमका लागि तयार अवस्थामा छौँ,*’**हमाल**ले भने । कमेडी कलाकारहरूको निरन्तरता र दर्शकमाझ लोकप्रियता आफैँमा ठूलो उपलब्धि भएको बताउँदै **हमाल**ले लामो समयदेखि कमेडी क्षेत्रमा सक्रिय कलाकारहरूको प्रशंसा गरे । **नयाँ पुस्ताका प्रतियोगी**हरूले प्रस्तुत गर्ने हास्यशैली र उनीहरूको ‘*सेन्स अफ ह्युमर*’ हेर्न आफू विशेष उत्सुक रहेको पनि उनले बताए । कार्यक्रममा **हमाल**ले जीवनमा हाँसोको महत्त्वसमेत उल्लेख गरे । हाँसो मानिसको जीवनका लागि आवश्यक रहेको भन्दै उनले ‘**सुपर कमेडी लिग**’ले नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गर्ने विश्वास व्यक्त गरे । उक्त सो कलाकार **विल्सन विक्रम राई**, **लुनिभा तुलाधर**, **रविन्द्र झा** र **सुरक्षा पन्त**ले क्याप्टेन तथा मेन्टरको जिम्मेवारी सम्हाल्नेछन् । कार्यक्रमका लागि देशका पाँच प्रमुख शहरमा अडिसन आयोजना गरिनेछ ।
सुपर कमेडि लिगको औपचारिक घोषणा
By अर्जुन भट्टराई •
Related Posts
मनोरंजन
विवाहपछि पनि सपना पूरा गर्ने आत्मविश्वास
१ भदौ २०८३
मनोरंजन
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई
३१ श्रावण २०८३
मनोरंजन
चलचित्र ‘लज्जावती’ आजदेखि प्रदर्शनमा आउँदै
२९ श्रावण २०८३
