अर्थ

बहुप्रतीक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आजदेखि खुल्यो, आरएफआईडीमार्फत तिर्नुपर्छ टोल

By अर्जुन भट्टराई •

काठमाडौं । नेपालकै पहिलो सडक सुरुङमार्गका रूपमा चर्चित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा सञ्चालनमा आएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधिहरूको उपस्थितिमा आज बिहान १०ः३० बजे यसको उद्घाटन गरिएको हो ।

काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा निर्मित यस सुरुङमार्गमा नगद होइन, आरएफआईडी प्रणालीमार्फत टोल शुल्क तिर्नुपर्ने व्यवस्था लागू गरिएको छ । सवारी चालकले सम्बन्धित बैंकमार्फत एन–ट्याग स्टिकर सवारीमा जडान गर्नुपर्नेछ । उक्त ट्यागमा रकम रिचार्ज गरेपछि सुरुङमार्गमा प्रवेश गर्दा टोल शुल्क स्वचालित रूपमा कट्टा हुनेछ ।

प्रारम्भिक चरणमा कार, जीप, भ्यान, पिकअप, बस र अन्य चारपाङ्ग्रे सवारीलाई मात्र प्रवेश दिइनेछ । मोटरसाइकल, पेट्रोल ट्यांकर र ग्यास बुलेटलगायतका सवारीलाई भने तत्काल प्रवेश दिइने छैन ।

टोल शुल्क सवारीको प्रकार र यात्राको दिशाअनुसार फरक–फरक तोकिएको छ । कार, जीप, भ्यान र पिकअपले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । मिनिबस, मिनी ट्रिपर र ट्यांकरले प्रवेशमा ११५ रुपैयाँ र बाहिर निस्कँदा ८० रुपैयाँ तिर्नेछन् । ठूला बस तथा ट्रकका लागि प्रवेश शुल्क २६० रुपैयाँ र निकास शुल्क २०० रुपैयाँ तोकिएको छ । बहु–एक्सल ट्रक तथा भारी उपकरण बोकेका सवारीले काठमाडौं छिर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ बुझाउनुपर्नेछ ।

२.६८ किलोमिटर लामो यो सुरुङमार्गको निर्माण २०७६ कात्तिक ४ गते औपचारिक रूपमा सुरु भएको थियो । यस आयोजनामा जापान सरकारको करिब २१.५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी रहेको छ । साढे तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएकोमा जापानी ठेकेदार कम्पनीले चार पटकसम्म म्याद थप गरेपछि अन्ततः यो आयोजना पूरा भएको हो ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.