काठमाडौं । हरेक १२ वर्षमा एकपटक आयोजना हुने परम्परागत बौद्ध महोत्सव सम्यक महादान पछिल्ला २४ वर्षदेखि हुन सकेको छैन । सोही महादानको सम्झना ताजा गराउने उद्देश्यले यस वर्ष साउन १३ गते काठमाडौंमा दिपंकर तथागत बुद्धको शोभायात्रा र पञ्चदान कार्यक्रम आयोजना गरिने भएको छ ।
गुरु पूर्णिमाको अवसर पारेर काठमाडौं महानगरपालिका–२७ अन्तर्गतको महावुद्ध महाविहारको प्राङ्गणमा यो कार्यक्रम हुनेछ । तयारीका लागि बसेको बैठकमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीले सहभागिता जनाउँदै कार्यक्रम सफल बनाउन महानगरको तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
महावुद्ध महाविहारका महास्थविर संघरत्न शाक्यका अनुसार काठमाडौंका विभिन्न महाविहार, बहाः र बहीःमा रहेका ८५ जना शाक्य स्थवीर, थायपा, दिपंकर तथागत बुद्ध तथा जीवित देवता श्रीगणेश र श्रीभैरवलाई विराजमान गराई पञ्चदान प्रदान गरिनेछ ।
कार्यक्रमको कार्यतालिका अनुसार बिहान ७ बजेदेखि दिपंकर बुद्धहरूको आसन ग्रहण गराइनेछ । त्यसपछि बिहान ९ बजेदेखि ११ बजेसम्म पञ्चदान कार्यक्रम सञ्चालन हुनेछ । अपराह्न १२ः३० बजे महाबौद्धबाट शोभायात्रा प्रारम्भ भई असन, त्योड, इनबहाल, कमलाक्षी र भोटाहिटी हुँदै असन डबलीसम्म पुग्नेछ । यसपछि विशेष पूजा सुरु भई साँझ ७ बजेसम्म कार्यक्रम जारी रहनेछ ।
कार्यक्रममा काठमाडौंका शाक्य समुदायका विभिन्न महाविहारहरू सहभागी हुनेछन्, जसमा शान्तिघट चैत्य बज्रधातु महाविहार (ठँहिटी), रत्नमण्डल महाविहार (नघःबहाः), अशोक चैत्य महाविहार (असंबहाः), महावुद्ध महाविहार (महाबौद्ध), धर्मचक्र महाविहार (चधंबहाः), रत्नाकर महाविहार (कोँसावहाः), कीर्तिपुण्य महाविहार (कोहिटीबहाः), धर्माकर महाविहार (तोंवहाः, यंगाल), विक्रमशील महाविहार (ओमबहाल) र कीर्तिपुण्य भुवनसुन्दर महाविहार (लगनटोल) रहेका छन् ।
शाक्य र बज्राचार्य समुदायका संयुक्त महाविहारमा इतुम्बहालको केशचन्द्र पारावर्त महाविहार, जनबहालको कनकचैत्य महाविहार, बसन्तपुरको श्रीखण्डतरमूल महाविहार, मखन बहाल, लगंवहाःको कीर्तिपुण्य महाविहार र ओमबहालको ब्रह्मचक्र महाविहार पर्दछन् । यसका अतिरिक्त महानगरभित्र चाःवही, कोटु चाःवही, अटुलखु वही, महाङ्काल वही, बिज्यास वही, खुसी वही, मरु वही, मखं वही, गण वही, त्वाःकं वही, न्हयाकं वही, सेङ्गु वही, कोटु वही, दुगं वही र नःवहीसहित १६ वटा बही रहेका छन् ।
उल्लेखनीय छ कि स्वयम्भू क्षेत्रमा आयोजना हुने सम्यक महादानको सबैभन्दा पछिल्लो आयोजना २०६० सालमा भएको थियो । त्यसयता यो महोत्सव हुन नसकेकाले परम्पराको स्मरण गराउने उद्देश्यले यस वर्ष दिपंकर बुद्धको शोभायात्रा तथा पञ्चदान कार्यक्रम गर्न लागिएको आयोजकले जनाएका छन् ।
