काठमाडौं । शनिबार बिहान देशका तीन फरक स्थानमा प्रहरीले गरेको कारबाहीमा लागूऔषध सहित चार जना व्यक्ति पक्राउ परेका छन्।
पहिलो घटनामा, काठमाडौंको चन्द्रागिरी नगरपालिका—२ नागढुङ्गामा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१—००६ ख ९८५५ नम्बरको बसमा खोटाङ रावा बेशी गाउँपालिका—४ बस्ने ३६ वर्षीय डिल्ली निरौलालाई ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम सहित पक्राउ गरेको छ।
दोस्रो घटनामा, मकवानपुरको भीमफेदी गाउँपालिका—२ मा प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले काठमाडौं कीर्तिपुर नगरपालिका—९ बस्ने २६ वर्षीय प्रिन्स सिंह लगायत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोलका ५५३ ट्याब्लेटसहित पक्राउ गरेको छ।
तेस्रो घटनामा, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका—६ ईश्रायल कामतमा प्रहरी चौकी नरसिंहटप्पुबाट खटिएको प्रहरीले इटहरी उपमहानगरपालिका—४ मा डेरा गरी बस्ने धनकुटा नगरपालिका—१ हिलेका ३५ वर्षीय मन बहादुर थापालाई ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १०८ ग्राम १० मिलिग्राम सहित पक्राउ गरेको छ।
पक्राउ परेका सबैका विरुद्ध प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको छ।
