समाचार

लैङ्गिक पहिचानका लागि चिकित्सकको प्रमाणपत्र आवश्यक पर्ने प्रावधान मान्य नहुने

By अर्जुन भट्टराई

सरोकारवालाहरुले नागरिकता ऐन संशोधन विधेयकमा लैङ्गिक पहिचानका लागि चिकित्सकको प्रमाणपत्र आवश्यक पर्ने प्रावधान राखिएको भन्दै आपत्ती जनाएका छन् ।

शुक्रबार काठमाडौंमा महिला, कानुन र विकास मञ्चले आयोजना गरेको कार्यक्रममा उनीहरुले संविधानले लैङ्गिक पहिचानअनुसार नागरिकता प्रमाणपत्र दिने व्यवस्था गरेपनि संशोधन विधेयकमा चिकित्सकको प्रमाणपत्र आवश्यक पर्ने प्रावधान राखिएको भन्दै आपत्ती जनाएका हुन् । कार्यक्रममा लैङ्गिक पहिचान अभियानकर्मी रुक्सना कपालीले गृह मन्त्रालयले नागरिकता वितरण सम्बन्धमा अन्य लिङ्गी निर्देशिका बनाएकामा त्यसमा स्व अनुभूतिका आधारमा नागरिकता दिने व्यवस्था नभएको बताएका छन् । उनले लैङ्गिक पहिचानका लागि चिकित्सकको प्रमाणपत्र आवश्यक पर्ने प्रावधान मान्य नहुने धारणा राखेका छन् । त्यस्तै अधिकारकर्मी एलिन भण्डारीले नागरिकतामा एलिना भण्डारी नाम हुँदा अर्कैको नागरिकता बोकेजस्तो लाग्ने गरेको बताउनुभयो । विधेयकमा रहेको लिङ्ग परिवर्तनका लागि चिकित्सकको प्रमाणपत्र चाहिने व्यवस्था हटाउन पनि उनले माग गरेका छन् ।

मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले लैङ्गिक पहिचानका आधारमा नागरिकता पाउने व्यवस्था संबिधानमा गरिए पनि कानुन नबनेकै कारण कार्यान्वयनमा समस्या रहेको बताए । संविधानमा पहिलो वर्षमै बाझेका कानुन खारेज भई अर्को कानुन बन्ने उल्लेख भएपनि अझै कार्यान्वयन हुन नसकेको उनको भनाई छ ।

उनले संविधानको धारा ३०४ अनुसार २०७५ फागुन २५ गते नै नागरिकता ऐन आउनुपर्नेमा त्यसो हुन नसकेको बताए । २०७७ मा संसदमा पेश भएको विधेयक अझै पारित हुनसकेको छैन ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.