काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सडक सुरक्षालाई केवल प्रहरीको जिम्मेवारी ठान्नु गलत भएको बताउँदै यसलाई सरकार, सञ्चारमाध्यम, निजी क्षेत्र र नागरिक समाज सबैको साझा दायित्व भएको जोड दिएका छन्।
शुक्रबार काठमाडौंस्थित नेपाल पुलिस क्लबमा आयोजित मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै आईजीपी कार्कीले भने, ‘सडक सुरक्षा प्रहरीले मात्र गर्ने हो भन्ने भाष्य विकास नहोस् भन्न चाहन्छु। संसारका अन्य सबै मुलुकमा जस्तै हाम्रोमा पनि सडक सुरक्षा हम्रै साझा दायित्व हो।’
उनले थपे, ‘विभिन्न तहका सरकार, सम्बन्धित निकाय, सञ्चारमाध्यम, निजी क्षेत्र र नागरिक समाजले मिलेर यो दायित्व निभाउँदा मात्र सडक सुरक्षित हुन्छ र हामी सबै सुरक्षित हुन्छौं। त्यसका लागि सरोकारवाला निकायसँग निरन्तर सहकार्य र समन्वय अपरिहार्य छ।’
कार्यक्रममा आईजीपी कार्कीले आन्दोलनको क्रममा मेट्रो ट्राफिक एफएमका भवन र स्रोत–साधन खरानी भए पनि यो रेडियोले पुनर्निर्माणपछि नयाँ ऊर्जाका साथ प्रसारण जारी राखेकोमा प्रशंसा गरे। उनले भने, ‘विपरीत परिस्थितिमा पनि मेट्रो ट्राफिक एफएमले नागरिकप्रतिको आफ्नो प्रतिबद्धता कायम राख्दै प्रसारण यात्रालाई अवरुद्ध हुन दिएन, यो सराहनीय छ।’
