भक्तपुर । राधेराधे चोक। बिहानैदेखि सवारीको चाप, यात्रुको भीड र चिया पसलको चहलपहलले जीवन्त रहने यो चोकमा एउटा विशाल संरचना भने वर्षौंदेखि मौन उभिएको छ। निर्माणकै बीचमा रोकिएको १७ तले यो भवन दिनप्रतिदिन थप जीर्ण बन्दै गएको छ, तर यसको वास्तविकता अझै रहस्यमै छ।
राधेराधे चोकस्थित ६ रोपनी ३ आना क्षेत्रफलमा फैलिएको यो भवनको निर्माण २०६७ सालमा सुरु भएको थियो। काठमाडौंबाट भक्तपुर प्रवेश गर्ने जोसुकैको नजर यो संरचनामा अवश्य पर्छ। अग्लो भवन, अधुरा झ्याल, बाहिर निस्किएका फलामका डन्डी, माथिल्ला तलामा उम्रिएको झार र वर्षौंको घामपानीले फिक्का बनेको कंक्रिटले धेरैको ध्यान तान्छ।
निर्माण सुरु हुँदा स्थानीयमा ठूलो उत्साह थियो। यहाँ पाँचतारे होटल बन्ने, व्यापारिक केन्द्र स्थापना हुने, सयौं युवाले रोजगारी पाउने र राधेराधेको आर्थिक गतिविधि नयाँ उचाइमा पुग्ने अपेक्षा थियो। वरपरको जग्गाको मूल्य बढ्न थालेको थियो, व्यवसायीहरूले विस्तारको योजना बनाउन थालेका थिए। तर मुख्य संरचना ठडिएपछि अचानक निर्माण रोकियो र त्यसपछि परियोजना फेरि अघि बढ्न सकेन।
स्थानीय ६२ वर्षीय एक पुरुषले भने, ‘मेरो छोराछोरी साना हुँदा यो भवन बन्न सुरु भएको थियो। अहिले उनीहरू आफैं अभिभावक भइसके। तर भवन भने त्यहीँको त्यहीँ छ। यसको वास्तविकता हामीले अझै पत्तो पाएका छैनौं।’
एक स्थानीय महिलाले भनिन्, ‘यो भवन २० वर्षदेखि यस्तै देखिरहेको छु। नगरपालिकाले मापदण्ड पूरा नभएर रोकेको भन्ने सुनेका हौं। अहिले केही काम भइरहेको छ कि भन्ने मात्र हो।’ एक स्थानीय व्यापारीले थपे, ‘पहिला सबैले केही महिनामै काम फेरि सुरु हुन्छ भन्थे। अहिले त कसैले त्यसबारे कुरा पनि गर्दैनन्।’
अहिले यो भवन राधेराधेको चिनारी बनिसकेको छ। ठेगाना देखाउन होस् वा एम्बुलेन्स बोलाउन, ‘त्यो ठूलो भवन नजिक’ भन्नु सबैभन्दा सहज परिचय बनेको छ।
गोविन्दाको भवन भन्ने हल्ला, वास्तविकता अर्कै
यो भवनसँग भारतीय अभिनेता गोविन्दाको नाम पनि जोडिएको छ। धेरैले यसलाई ‘गोविन्दाको भवन’ भनेर चिन्ने गरेका छन्। तर जानकारहरूका अनुसार गोविन्दा निर्माणस्थल अवलोकनका लागि एकपटक मात्र आएका थिए र त्यसैले यस्तो चर्चा फैलिएको हो। वास्तवमा यो परियोजना नेपाली व्यावसायिक घराना जगदम्ब ग्रुप तथा अन्य लगानीकर्तासँग सम्बन्धित रहेको बताइन्छ।
निर्माण कार्य करिब सन् २०१७ तिर पूर्ण रूपमा रोकिएको मानिन्छ। परियोजना रोकिनुका पछाडि विदेशी लगानीसँग सम्बन्धित प्रक्रिया, लगानीकर्ताबीचको विवाद, आर्थिक व्यवस्थापनका चुनौती र कानुनी जटिलतालाई मुख्य कारणका रूपमा चर्चा गरिन्छ। यद्यपि सम्बन्धित पक्षबाट हालसम्म कुनै आधिकारिक सार्वजनिक जानकारी आएको छैन।
भवनभित्रको दृश्य: सन्नाटा र रहस्य
नेपाल न्यूज बैंकको टोली स्थलगत रिपोर्टिङका लागि राधेराधे पुग्यो। भवनको मुख्य गेटनजिकै एउटा सानो पसल छ र त्यसैबाट भित्र प्रवेश गर्नुपर्ने रहेछ। सञ्चारकर्मी भएको र भवनबारे जानकारी लिन आएको बताएपछि मात्र भित्र जाने अवसर मिल्यो।
भित्र प्रवेश गर्दा पहिलो तलामा एक पुरुष भवन सफा गरिरहेका थिए। उनले भने, ‘हो, म यो भवनको रेखदेखका लागि बसेको हुँ। तर हामीले केही बोल्न मिल्दैन।’ भवन कसको भनेर सोध्दा उनले भने, ‘यो जगदम्बाको हो। उहाँहरूले नै हामीलाई रेखदेखका लागि राख्नुभएको हो। अरू कुरा उहाँहरूलाई नै सोध्नुस्।’ जगदम्ब ग्रुपका आधिकारिक व्यक्तिहरू भने सम्पर्कमा आउन चाहेनन्।
भवनभित्र चारैतिर अधुरा कोठा, खुला पिलर, धुलो र चिस्यानले भरिएको वातावरण थियो। पहिलो तलाको एउटा भागमा मात्र रेखदेखका लागि एक परिवार बस्छ, बाँकी सबै तला सुनसान छन्। कुनै समय ठूलो लगानी गरिएको यो परियोजना अहिले कति उपेक्षित अवस्थामा पुगेको छ भन्ने स्पष्ट देखिन्थ्यो।
पत्रकारमाथि बन्देज किन?
भवनको अवस्थाभन्दा पनि एउटा प्रश्नले ध्यान खिच्छ, पत्रकारलाई भवनभित्र प्रवेश गर्न किन रोकिन्छ? सामान्य जानकारी लिन जाँदा पनि फोटो वा भिडियो खिच्न नदिने र प्रश्नको जवाफ नदिने व्यवहारले यो परियोजनाप्रति थप जिज्ञासा जन्माउँछ। परियोजना कानुनी प्रक्रियामै रहेको हो भने सम्बन्धित पक्ष स्पष्ट जानकारी सार्वजनिक गर्न किन तयार छैन? भविष्यबारे योजना छ भने स्थानीय समुदायलाई किन जानकारी दिइएको छैन? यी प्रश्न अझै अनुत्तरित छन्।
नगरपालिकाको प्रतिक्रिया पनि अस्पष्ट
मध्यपुर थिमि नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले भने, ‘अहिले यस विषयमा केही बोल्दैनौं। इन्जिनियरिङ कलेजसँग मिलेर अध्ययन भइरहेको छ। प्रतिवेदन आएपछि त्यसबारे कुरा गरौंला।’ यस प्रतिक्रियाले भवनको अवस्था अध्ययनको चरणमा रहेको संकेत गरे पनि निर्माण कहिले सुरु हुन्छ, संरचना सुरक्षित छ कि छैन र यसको भविष्य के हुन्छ भन्ने विषय अझै खुल्न सकेको छैन। भवन निर्माणको लागत र साझेदारहरूबारे जानकारी पनि प्राप्त हुन सकेको छैन।
दैनिक हजारौं मानिस यही भवनलाई हेर्दै ओहोरदोहोर गर्छन्। राधेराधेमा नयाँ घर बने, व्यापार विस्तार भयो, सडकमा सवारीको चाप बढ्यो, धेरै कुरा परिवर्तन भयो। तर चोकको बीचमा उभिएको यो १७ तले भवन भने समयसँगै परिवर्तन हुन सकेन। दुई दशकअघि ठूलो आशाका साथ सुरु भएको परियोजना आज मौन स्मारकजस्तै उभिएको छ। हरेक दिन यात्रुहरूको मनमा उही प्रश्न उब्जिन्छ, यति ठूलो परियोजना आखिर किन अधुरै रह्यो र यसको भविष्य के हो?
