समाचार

अनलाइन सट्टेबाजी र अवैध कारोबारका दुई लाख २३ हजारभन्दा बढी वेबसाइट तथा एप बन्द

By अर्जुन भट्टराई •

अनलाइन सट्टेबाजी र अवैध कारोबारका दुई लाख २३ हजारभन्दा बढी वेबसाइट तथा एप बन्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाखभन्दा बढी वेबसाइट तथा मोबाइल एप बन्द गरेको छ।

सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको ४२ औँ बुँदामा सट्टेबाजी एप र त्यससँग सम्बन्धित वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने निर्देशन दिइएको थियो। सोही निर्देशनअनुसार नेपालमा सञ्चालित यस्ता वेबसाइट बन्द गरिएका छन्। तर एउटा बन्द हुँदा अर्को नयाँ नाममा खुल्ने क्रम भने अझै जारी छ।

फिफा विश्वकप आयोजना भएयता मात्रै दुई लाख २३ हजार ५६८ वटा यस्ता एप तथा वेबसाइट बन्द गरिएको प्राधिकरणले जनाएको छ। विश्वकपका बेला बेटिङ एपको प्रयोग बढ्न सक्ने भन्ने आशंकाका कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विशेष चासो देखाएपछि प्राधिकरणले छुट्टै टास्क फोर्स गठन गरी कारबाही अघि बढाएको हो।

टास्क फोर्समा रहेका दूरसञ्चारका सहायक निर्देशक तथा इन्जिनियर ओमप्रकाश महतोका अनुसार विश्वकप सुरु भएपछि इन्टरनेट सेवा प्रदायक (आईएसपी) का प्रतिनिधिहरूलाई प्राधिकरणमै राखेर यस्ता वेबसाइटका यूआरएल ब्लक गरिएको हो। अधिकार प्राप्त विभिन्न संस्था तथा निकायले पहिचान गरेका वेबसाइटहरूलाई आईएसपीसँगको सहकार्यमा बन्द गर्ने काम भइरहेको छ।

नयाँ–नयाँ वेबसाइट खुल्ने चुनौतीलाई ध्यानमा राख्दै प्राधिकरणले ‘थ्रेट इन्टेलिजेन्स टुल’ प्रयोग गरी नयाँ साइटहरू पहिचान गर्दै बन्द गर्ने व्यवस्था मिलाएको छ। यसका लागि छुट्टै जनशक्ति समेत खटाइएको महतोले जानकारी दिए। साथै, कसैलाई यस्ता अवैधानिक वेबसाइटबारे जानकारी भएमा प्राधिकरणले उपलब्ध गराएको लिङ्क मार्फत सूचना दिन समेत अनुरोध गरिएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.