अर्थ

हिमालय मोट्रक्सद्वारा MAXUS eTERRON 9 Comfort इलेक्ट्रिक पिकअप नेपाली बजारमा सार्वजनिक, सुरुवाती मूल्य ८८ लाख

By अर्जुन भट्टराई •

हिमालय मोट्रक्सद्वारा MAXUS eTERRON 9 Comfort इलेक्ट्रिक पिकअप नेपाली बजारमा सार्वजनिक, सुरुवाती मूल्य ८८ लाख

काठमाडौं। चीनको SAIC ग्रुप अन्तर्गतको MAXUS सवारीसाधनका लागि नेपालको आधिकारिक आयातकर्ता तथा वितरक हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हिमालय मोट्रक्स प्रा.लि.ले नयाँ इलेक्ट्रिक फोर-ह्वील ड्राइभ पिकअप MAXUS eTERRON 9 Comfort नेपाली बजारमा सार्वजनिक गरेको छ।

कम्पनीले यस गाडीको विशेष सुरुवाती मूल्य ८८ लाख रूपैयाँ तोकेको छ, जुन पहिलो ५० जना ग्राहकका लागि मात्र लागू हुनेछ। उल्लेखनीय छ कि यही eTERRON 9 को प्रिमियम भर्सन एक वर्षअघि नै सार्वजनिक भइसकेको छ, जसको हालको मूल्य १ करोड २८ लाख रूपैयाँ रहेको छ।

शक्तिशाली प्रदर्शन, लामो रेन्ज, आरामदायी यात्रा र व्यावहारिक प्रयोगलाई ध्यानमा राखी तयार गरिएको यो पिकअप दैनिक यात्रा, लामो दूरीको ड्राइभ, आउटडोर एडभेन्चर तथा व्यावसायिक कामका लागि उपयुक्त छ।

**ब्याट्री र चार्जिङ**

अमेरिकन स्ट्यान्डर्ड साइजमा निर्मित यो पिकअपमा १०२.२ kWh क्षमताको ब्याट्री जडान गरिएको छ, जुन नेपाल आयात हुने सवारीसाधनमध्ये सबैभन्दा ठूलो क्षमताको ब्याट्री प्याक हो। एकपटक पूर्ण चार्ज गर्दा NEDC मापदण्डअनुसार यसले ५६० किलोमिटरसम्मको रेन्ज दिन्छ। यसले ११५ kW सम्मको DC फास्ट चार्जिङ सपोर्ट गर्छ र ब्याट्रीलाई करिब ४२ मिनेटमा २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

**शक्तिशाली प्रदर्शन**

eTERRON 9 Comfort मा अगाडि १२५ kW र पछाडि २०० kW क्षमताका दुईवटा इलेक्ट्रिक मोटर छन्। यसले कुल ७०० Nm टर्क उत्पादन गर्छ र मात्र ५.८ सेकेन्डमा शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ। यसको अधिकतम गति १९० किलोमिटर प्रतिघण्टा रहेको छ।

**अफरोड क्षमता र बनोट**

हिमालय मोट्रक्सका अनुसार यस गाडीमा २६० मिमिको उच्च ग्राउन्ड क्लियरेन्स, शक्तिशाली फोर-ह्वील ड्राइभ क्षमता र उच्च हिमाली तथा पहाडी सडक, हिलो र ढुङ्गे बाटोमा चलाउन मिल्ने विभिन्न ड्राइभिङ मोडहरू जडान गरिएका छन्। यसको पेलोड क्षमता १,०५० किलोग्राम रहेको छ, जुन यस सेगमेन्टमै सबैभन्दा बढी हो।

गाडीमा All-Terrain System (ATS) जडान गरिएको छ। यसको एप्रोच एंगल २९ डिग्री र डिपार्चर एंगल २५ डिग्री रहेको छ। डबल विशबोन फ्रन्ट सस्पेन्सन र मल्टी-लिङ्क इन्डिपेन्डेन्ट रियर सस्पेन्सनले नेपालका फरक-फरक सडक अवस्थामा पनि आरामदायी र स्थिर यात्रा सुनिश्चित गर्छ।

**आधुनिक इन्टेरियर र सुविधाहरू**

पाँच यात्रुका लागि तयार गरिएको यो पिकअपको क्याबिन फराकिलो, आकर्षक र अत्याधुनिक छ। यसमा १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १२.३ इन्चकै सेन्ट्रल टचस्क्रिन गरी दुईवटा स्क्रिन उपलब्ध छन्। Apple CarPlay र Android Auto, अटोमेटिक एयर कन्डिसनिङ, ६ तरिकाले मिलाउन सकिने इलेक्ट्रिक ड्राइभर सिट, माइक्रोफाइबर लेदर स्टेयरिङ ह्वील, पछाडिका यात्रुका लागि छुट्टै एसी आउटलेट, USB र Type-C चार्जिङ पोर्ट, चाबी नल्याई गाडी खोल्न र स्टार्ट गर्न सकिने सुविधा, अटोमेटिक हेडलाइट र वाइपर, Vehicle-to-Load सुविधा तथा वन टच पावर विन्डो जस्ता आधुनिक सुविधाहरू यसमा समावेश छन्।

**Euro NCAP फाइभ-स्टार सुरक्षा रेटिङ**

MAXUS eTERRON 9 ले प्रतिष्ठित Euro NCAP बाट फाइभ-स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ, जुन नेपालमा आयात हुने कमै सवारीसाधनले पाएका छन्। यसले गाडीको बलियो सुरक्षा क्षमता र आधुनिक प्रविधिको प्रमाण दिन्छ।

कम्पनीका प्रबन्ध निर्देशक सौरभ थापाले विश्वप्रसिद्ध MAXUS कम्पनीको इलेक्ट्रिक पिकअप नेपालमा आकर्षक मूल्यमा उपलब्ध गराउन पाउँदा खुसी लागेको बताए। उनले आगामी नाइमा अटो एक्स्पोमा MAXUS कम्पनीकै लक्जरी माइक्रोबस पनि सार्वजनिक गर्न लागिएको जानकारी दिए। हाल MAXUS सवारीसाधन काठमाडौं र पोखराबाट बिक्री वितरण हुँदै आएको छ भने नेपालभर ६ प्रमुख सहरहरूमा सर्भिस आउटलेट उपलब्ध छन्।

हिमालय अर्गनाइजेसन विगत १० वर्षदेखि फोर्स मोटर्सको नेपालको आधिकारिक आयातकर्ता तथा वितरक रहँदै आएको छ। कम्पनीले केही दिनभित्रै चीनमा निर्मित विश्वविख्यात Dongfeng कम्पनीका विभिन्न सिरिजका बसहरू पनि नेपालमा सार्वजनिक गर्न लागेको जनाएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.