काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत विभिन्न वस्तुगत संघ–संस्थाको प्रतिनिधित्व हुने गरी वस्तुगत परिषद् गठन गरिएको छ। परिषद् गठनसँगै बुधबार महासंघ सचिवालयमा आयोजित कार्यक्रममा नवनियुक्त सदस्यहरूलाई मनोनयन पत्र हस्तान्तरण गरियो।
कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले नवनियुक्त सदस्यहरूलाई बधाई तथा शुभकामना दिँदै वस्तुगत परिषद्ले निजी क्षेत्रको साझा आवाजलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे। उनले नीतिगत सुधार, लगानी प्रवर्द्धन, उत्पादन र निर्यात विस्तार तथा निजी क्षेत्रका समस्या समाधानका लागि परिषद्ले सक्रिय र परिणाममुखी भूमिका निर्वाह गर्नुपर्ने बताए। निजी क्षेत्र र सरकारबिच प्रभावकारी समन्वय कायम गर्दै मुलुकको आर्थिक विकासमा परिषद्को महत्त्वपूर्ण योगदान रहने उनको भनाइ थियो।
महासंघका जिल्ला नगर उपाध्यक्ष दिल सुन्दर श्रेष्ठले वस्तुगत परिषद् महासंघको महत्त्वपूर्ण अंग रहेको बताउँदै क्षेत्रगत समस्या समाधानमा यसको भूमिका उल्लेखनीय हुने धारणा राखे।
वस्तुगत उपाध्यक्ष तथा वस्तुगत परिषद्का सभापति नरेशलाल श्रेष्ठले महासंघका वस्तुगत सदस्य संघहरू नै निजी क्षेत्रको मेरुदण्ड भएको उल्लेख गर्दै परिषद्ले उद्योग–व्यवसायका साझा एजेन्डालाई एकीकृत रूपमा अघि बढाउने विश्वास व्यक्त गरे। उनले सदस्यहरूलाई आ–आफ्नो क्षेत्रको अनुभव, सुझाव र नीतिगत धारणा महासंघमार्फत प्रभावकारी रूपमा प्रस्तुत गर्न तथा विषयगत समितिको तथ्याङ्कमा आधारित भई अनुसन्धान गर्दै समस्या समाधानमा पहल गर्न आग्रह गरे।
एसोसिएट उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति प्रवलजंग पाण्डेले मुलुकको अर्थतन्त्र अझै लयमा फर्किन नसकेको र लगानीको वातावरण बन्न नसकेको अवस्थामा व्यावसायिक गतिविधिमार्फत अर्थतन्त्र चलायमान बनाउन परिषद्को भूमिका महत्त्वपूर्ण हुने बताए।
महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले परिषद् तथा समितिहरूका गतिविधिले नै महासंघलाई चलायमान राख्ने भन्दै परिणाममुखी कार्यशैलीलाई प्राथमिकता दिन आग्रह गरे।
यसैबिच बुधबार बसेको वस्तुगत परिषद्को बैठकले भक्त बहादुर हमाललाई परिषद्को उपसभापतिमा मनोनयन गर्यो। महासंघमा हाल १४२ वटा वस्तुगत सदस्य संघ–संस्थाहरू आबद्ध रहेका छन्।
