दोलखाको गौरीशंकर गाउँपालिकास्थित सिप्रिङ खोलामा गए राति आएको भीषण बाढीले गाउँपालिका–९ का स्थानीय करिब ७३ वर्षीय चसमान तामाङलाई बगाएर बेपत्ता बनाएको छ। राति करिब ११ बजेतिर आएको उक्त बाढीले सिप्रिङ खोला जलविद्युत् केन्द्रको ड्याम साइडमा पनि ठूलो क्षति पुर्याएको छ।
वडा अध्यक्ष निमगेली शेर्पाका अनुसार जलविद्युत् केन्द्रमा कार्यरत सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ — यी चार जना कर्मचारी हाल दुई खोलाको बीचमा फसेका छन्। खोलाले दुवैतर्फको जमिन कटान गरेका कारण उनीहरू सुरक्षित स्थानमा जान नसक्ने अवस्थामा रहेकाले तत्काल उद्धार जरुरी भएको वडा अध्यक्ष शेर्पाले बताए।
सिप्रिङ खोलामा अझै पनि बाढी लगातार आइरहेकाले उद्धार कार्य सञ्चालन गर्न कठिनाइ भइरहेको छ। मौसममा सुधार नआएसम्म उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न चुनौती रहेको उनले जानकारी दिए।
स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायहरूले बेपत्ता वृद्धको खोजी तथा जोखिममा परेका चार कर्मचारीको सुरक्षित उद्धारका लागि समन्वय गरिरहेका छन्। लगातारको वर्षाले दोलखाका नदी तथा खोलाको जलस्तर बढिरहेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।
