समाचार

कोलकाताबाट सिधै विराटनगर : कार्गो रेल सेवाले पूर्वी नेपालका उद्योगी उत्साहित

By अर्जुन भट्टराई •

विराटनगर । नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेको कार्गो रेल पहिलोपटक भारतको कोलकाता बन्दरगाहबाट सिधै विराटनगर आइपुगेपछि पूर्वी नेपालका उद्योगी–व्यवसायीमा उत्साहको लहर छाएको छ। वर्षौंदेखिको माग अन्ततः पूरा भएको भन्दै उद्योगीहरूले यसलाई पूर्वी नेपालको औद्योगिक विकासका लागि ‘गेम चेन्जर’ र ‘माइलस्टोन’ भनेका छन्।

गत शुक्रबार कोलकाताबाट छुटेको यो रेल सोमबार विराटनगरस्थित कस्टम यार्डमा आइपुग्यो। नियमित सेवाकै रूपमा आएको यस पहिलो कार्गो रेलले मोरङ–सुनसरी औद्योगिक करिडोरमा रहेको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ ल्याएको थियो।

यसअघि तेस्रो मुलुकबाट आउने सामान भारतको बथनाहासम्म मात्र रेलमार्फत ल्याइन्थ्यो र त्यसपछि ट्रकमार्फत विराटनगर पुर्‍याउनुपर्ने बाध्यता थियो। अब रेल सिधै नेपालको भन्सार बिन्दुसम्म आउन थालेपछि ढुवानी प्रक्रिया छोटिने, लागत घट्ने र समय बच्ने उद्योगीहरूको विश्वास छ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले यो सेवालाई ऐतिहासिक उपलब्धि भने। ‘यो धेरै वर्षदेखिको माग थियो, अन्ततः पूरा भयो। ढुवानी लागत घट्दा उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढ्छ र त्यसको लाभ अन्ततः उपभोक्तासम्म पुग्छ,’ उनले भने।

नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका अध्यक्ष पवन सारडाले यो सेवाले विराटनगर औद्योगिक करिडोरका उद्योगलाई देशका अन्य औद्योगिक क्षेत्रसँग थप प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाएको बताए।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले परीक्षणपछि लामो समय रोकिएको यो सेवा नियमित रूपमा सुरु हुनु सकारात्मक भएको बताउँदै निरन्तरतामा जोड दिए। ‘दुई वर्षअघि नै उद्घाटन भएको थियो, तर विभिन्न कारणले नियमित सञ्चालन हुन सकेन। अब निरन्तर चल्यो भने उद्योगीलाई ठूलो राहत मिल्छ,’ उनले भने। रेलमार्फत कच्चा पदार्थ आयात हुँदा ट्रकको निर्भरता घट्ने, ढुवानी जोखिम कम हुने र उत्पादन लागत नियन्त्रणमा सहयोग पुग्ने उनको भनाइ छ।

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकी शर्माले सेवा सुरु हुनु मात्र पर्याप्त नभएको भन्दै दिगोपनामा जोड दिए। ‘यो सेवा निरन्तर सञ्चालन हुनु सबैभन्दा महत्वपूर्ण कुरा हो। उद्योगीहरूलाई यसको प्रयोगका लागि प्रोत्साहन गर्नुपर्छ, तब मात्र रेल सेवा पूर्ण रूपमा सफल हुन्छ,’ उनले भने।

कार्गो रेल सेवाको औपचारिक शुभारम्भ कोलकातामा आयोजित विशेष समारोहमा भएको थियो, जहाँ कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, भारतीय भन्सारका उच्च अधिकारी, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेड (कोनकोर)का प्रतिनिधिले संयुक्त रूपमा हरियो झण्डा देखाएर रेललाई विराटनगरका लागि बिदाइ गरेका थिए। सोमबार विराटनगर भन्सार यार्डमा रेल आइपुग्दा भन्सार कर्मचारी, उद्योगी तथा व्यवसायीले स्वागत गरे भने मंगलबार औपचारिक कार्यक्रमसहित सेवाको सुभारम्भ गरियो।

उल्लेखनीय छ कि विराटनगरको एकीकृत जाँच चौकी (आईसीपी)सम्म कार्गो रेल ल्याउने लक्ष्यसहित २०८० साल जेठमा परीक्षणका रूपमा रेल सञ्चालन गरिएको थियो। तर नीतिगत जटिलता, समन्वयको अभाव र प्रशासनिक अवरोधका कारण सेवा नियमित हुन सकेको थिएन। पछिल्लो समय नेपाल र भारतका सम्बन्धित निकायबीच आवश्यक समन्वय र नीतिगत गाँठो फुकाएपछि यो बाटो खुलेको हो। उद्योगीहरूका अनुसार यो सेवा निरन्तर सञ्चालन हुन सके पूर्वी नेपालको औद्योगिक उत्पादन, आयात–निर्यात, ढुवानी व्यवस्थापन र समग्र प्रतिस्पर्धात्मक क्षमतामा दीर्घकालीन सकारात्मक प्रभाव पर्नेछ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.