समाचार

नेपाल टेलिकमले हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम क्षेत्रमा टुजी र फोरजी सेवा विस्तार गर्यो

By अर्जुन भट्टराई •

नेपाल टेलिकमले हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम क्षेत्रमा टुजी र फोरजी सेवा विस्तार गर्यो

काठमाडौं। नेपाल टेलिकमले देशका दुर्गम हिमाली तथा तराई क्षेत्रमा उच्च गतिको इन्टरनेट र गुणस्तरीय दूरसञ्चार सेवा पुर्याउने अभियानलाई थप तीव्रता दिएको छ। यसअन्तर्गत कम्पनीले हुम्लाको केर्मी, नुवाकोटको जिम्नाङ र बाहुनबेसी, रसुवाको टिमुरे तथा बाराको भगवानपुर र मधुरीजाब्दीमा टुजी र फोरजी सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ।

भौगोलिक रूपमा अति विकट हुम्ला जिल्लाको नाम्खा गाउँपालिकामा रहेको केर्मी टावर सञ्चालनमा आएसँगै वडा नं. २ र ४ अन्तर्गतका केर्मी, च्यादुक र चालागाउँका बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन्। यसका साथै सिमकोट–हिल्सा सडक खण्ड, तातोपानी खोला पर्यटकीय क्षेत्र, स्थानीय स्वास्थ्य इकाई, सरकारी कार्यालय, विद्यालय तथा गुम्बाहरूमा पनि सेवा पुगेको छ।

बारा जिल्लामा मधुरीजाब्दी टावरबाट इटहर, औलिया, बेलाही, सिर्सिया र कलैयामाई लगायतका क्षेत्रका ४ वटा विद्यालय क्षेत्र लाभान्वित भएका छन् भने भगवानपुर टावरबाट पटेर्वा, हरिहरपुर, हर्नैयाचोक र सिम्रौनगढ क्षेत्रका ५ वटा विद्यालय क्षेत्र आसपासका बस्तीहरूमा सेवा पुगेको छ।

रसुवाको टिमुरेस्थित टावरबाट उत्तरी सीमानाका नजिकका बस्तीहरू लाभान्वित भएका छन्। नुवाकोटमा जिम्नाङ टावरबाट दुप्चेश्वर गाउँपालिकाका वडा नं. ३ र ४ तथा बाहुनबेसी टावरबाट तादी, लिखु र चौघडा क्षेत्रका बासिन्दाले गुणस्तरीय सेवाको सुविधा पाउन थालेका छन्।

नेपाल टेलिकमका अनुसार यस सेवा विस्तारले स्थानीय शिक्षा, स्वास्थ्य, व्यापार, प्रशासनिक कार्य र डिजिटल बैंकिङलाई सहज बनाउनुका साथै पर्यटकीय तथा सीमावर्ती क्षेत्रमा पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्र सुदृढ गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास कम्पनीले लिएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.