समाचार

वैदेशिक रोजगारका नाममा ठग्नेहरू जहाँ लुके पनि कारबाहीमा पर्छन् : मन्त्री यादव

By अर्जुन भट्टराई •

वैदेशिक रोजगारका नाममा ठग्नेहरू जहाँ लुके पनि कारबाहीमा पर्छन् : मन्त्री यादव

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।

मंगलबार वैदेशिक रोजगार विभागको कार्यालय ताहचलमा अनुगमनका क्रममा बोल्दै मन्त्री यादवले भने, ‘वैदेशिक रोजगारको क्षेत्रलाई सुधार गर्नका लागि ऐन संशोधन गर्दैछौँ। चाँडै नै क्याबिनेट र संसद्मा लगेर ऐन संशोधन गर्दै नयाँ युगको सुरुवात गर्छौँ। सबै कुरा डिजिटल हुन्छ, म्यानपावरमा आवेदन दिन काठमाडौँ आउनु पर्दैन।’

नयाँ प्रणाली लागू भएपछि म्यानपावर कम्पनीमा आवेदन दिन, अन्तर्वार्तामा सहभागी हुन वा अन्य प्रक्रियाका लागि काठमाडौं धाउनु पर्ने बाध्यता हट्ने उनले बताए। वैदेशिक रोजगारसँग सम्बन्धित अधिकांश सेवाहरू अनलाइनबाटै उपलब्ध गराइने उनको भनाइ छ।

वैदेशिक रोजगारको नाममा ठगी गर्नेहरूलाई कडा चेतावनी दिँदै मन्त्री यादवले भने, ‘जहाँ लुकेर बसे पनि कारबाहीमा पर्नुहुन्छ।’ नेपाल प्रहरी, नेपाल अनुसन्धान निकाय र वैदेशिक रोजगार विभागका अनुसन्धान संयन्त्रको समन्वयमा ठगहरूलाई कानुनी दायरामा ल्याइने उनले स्पष्ट पारे।

मन्त्री यादवका अनुसार हाल विद्यमान कानुनी व्यवस्थाअनुसार डिजिटल प्रणाली सञ्चालनमा ल्याइएको भए पनि यसलाई थप प्रभावकारी बनाउन वैदेशिक रोजगारसम्बन्धी ऐन संशोधनको तयारी भइरहेको छ। मन्त्रिपरिषद्बाट पारित भएपछि संशोधन विधेयक संसद्मा पेश गरिने र त्यसपछि थप आधुनिक तथा पूर्ण डिजिटल प्रणाली लागू गरिने उनले जानकारी दिए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.