विराटनगर । देशकै दोस्रो ठूलो सहर विराटनगरस्थित कोशी अस्पतालले आफ्नो परिसरमा भएको अतिक्रमण हटाएर सरकारी जग्गा फिर्ता ल्याउने अभियानलाई तीव्र गतिमा अघि बढाएको छ। यही अभियानअन्तर्गत गत सोमबार अस्पताल परिसरभित्र निर्माण गरिएका अवैध संरचनामा डोजर चलाइयो। अब खाली भएको जग्गामा तत्काल पर्खाल निर्माण गरेर सुरक्षित गर्ने तयारी अस्पतालले गरेको छ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. चन्द्रभाल झाले अस्पतालको दीर्घकालीन गुरुयोजना कार्यान्वयन र स्वास्थ्य सेवा विस्तारका लागि ती संरचना हटाउनु अनिवार्य थियो भने। अस्पतालको स्वामित्वमा उक्त स्थानमा पाँच बिघाभन्दा बढी जग्गा रहेको छ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा डा. झाले भने, ‘अस्पतालको जग्गा सुरक्षित राख्न हामी घेराबन्दी गर्छौं। त्यसपछि गुरुयोजनाअनुसार व्यवस्थित रूपमा पूर्वाधार विकासका काम अघि बढाइनेछ।’ अतिक्रमण हटाइएका क्षेत्रमा ढिलाइ नगरी पर्खाल लगाउने जानकारी पनि उनले दिए।
डा. झाका अनुसार अस्पतालको विस्तार योजना कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय र मन्त्रीको समेत सक्रिय सहयोग रहेको छ। भविष्यमा विशेषज्ञ सेवा विस्तार, नयाँ भवन निर्माण र आधुनिक स्वास्थ्य पूर्वाधार विकासका लागि यो जग्गा उपयोग गरिने लक्ष्य अस्पतालले राखेको छ।
डोजरले अधिकांश व्यावसायिक सटर भत्काइए पनि नेपाल क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटीअन्तर्गतको ब्लड बैंक, देवकोटा पुस्तकालय र गणेश मन्दिरका मूल संरचना भने तत्कालका लागि यथावत राखिएको डा. झाले जानकारी दिए। ती संरचना अस्पतालको आपतकालीन तथा अत्यावश्यक सेवासँग प्रत्यक्ष रूपमा जोडिएकाले अहिले नहटाइएको उनले स्पष्ट पारे। तथापि गुरुयोजना कार्यान्वयनको क्रममा ती संरचनाको पनि व्यवस्थापन तथा स्थानान्तरण गरी अस्पतालको सम्पूर्ण जग्गा खाली गरिने उनले बताए।
