काठमाडौं। उद्योग तथा वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले देशभरका घरधुरीमा रहेका एलपी ग्यास सिलिन्डरको एकीकृत डिजिटल अभिलेख (डाटाबेस) बनाउन सरकारसँग आग्रह गरेका छन्।
बुधबार बसेको समितिको बैठकमा बोल्दै अन्सारीले हाल सरकारसँग प्रत्येक घरमा कति वटा ग्यास सिलिन्डर छन् भन्ने कुनै आधिकारिक तथ्यांक नभएकाले अनुगमन र व्यवस्थापनमा समस्या भइरहेको बताए। प्रभावकारी अनुगमन, आपूर्ति व्यवस्थापन र उपभोक्ता सुरक्षाका लागि यस्तो डिजिटल प्रणाली आवश्यक रहेको उनको भनाइ थियो।
उनले घरधुरी म्यापिङमा आधारित एकीकृत प्रणाली विकास गरी ग्यास कम्पनी, वितरक र नेपाल आयल निगमले समेत कुन घरमा कति सिलिन्डर छन् भन्ने जानकारी पाउन सक्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए। यस्तो प्रणाली विकास गर्न ठूलो चुनौती नरहेको उल्लेख गर्दै वर्तमान सरकारकै कार्यकालमा यसलाई कार्यान्वयनमा ल्याउन उनले आग्रह गरे। डिजिटल प्रणाली लागू भएपछि ग्यास वितरण थप पारदर्शी, व्यवस्थित र प्रभावकारी हुने उनको दाबी छ।
सोही बैठकमा अन्सारीले भारतसँग प्रस्तावित एलपी ग्यास पाइपलाइन परियोजनाका बारेमा पनि सरकार थप सक्रिय हुनुपर्ने आवश्यकता औंल्याए। भारत सरकारले विभिन्न समयमा यस परियोजनाप्रति चासो देखाएको भए पनि कार्यान्वयनको चरणमा पुर्याउन नेपाल सरकारले कूटनीतिक तथा प्राविधिक पहल तीव्र बनाउनुपर्ने उनले बताए।
उनले भारतसँग समन्वय गरेर पाइपलाइन निर्माणको स्पष्ट समयसीमा, भण्डारण क्षमता र कार्ययोजना सार्वजनिक गर्न सरकारलाई आग्रह गरे। साथै, ग्यास उद्योगहरूको सहकार्यमा हाउजिङ सोसाइटी तथा घना बस्तीहरूमा सामूहिक ग्यास वितरण प्रणालीको प्रवर्द्धन गर्न पनि उनले सुझाव दिए।
