काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहरिएका १५ जनालाई जिल्ला अदालत काठमाडौंले सजाय सुनाएको छ। मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित सबैको सजाय तोकेको हो।
अदालतले टोपबहादुर रायमाझीलाई ५ वर्षको कैद र ५० हजार रुपैयाँ जरिवाना, टेकनारायण पाण्डेलाई ६ वर्षको कैद र ६० हजार जरिवाना, बालकृष्ण खाँणलाई २ वर्षको कैद र २० हजार जरिवाना तथा टेकनाथ रिजाललाई १ वर्षको कैद र १० हजार जरिवाना तोकेको छ।
यसैगरी केशव दुलाल र सानु भण्डारीलाई ७-७ वर्षको कैद र ७०-७० हजार जरिवाना, इन्द्रजित राईलाई ६ वर्षको कैद र ६० हजार जरिवाना सुनाइएको छ। आङटावा शेर्पा, सन्देश शर्मा, गोविन्द चौधरी र सागर राईलाई ५-५ वर्षको कैद र ५०-५० हजार जरिवाना तोकिएको छ।
त्यस्तै शम्शेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झालाई प्रत्येकलाई १-१ वर्षको कैद र १०-१० हजार रुपैयाँ जरिवाना तोकिएको छ।
