सर्लाही । सर्लाही प्रहरीले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। दुवै पक्राउ परेका व्यक्ति भारतको बिहार राज्यका नागरिक हुन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार विशेष सूचनाको आधारमा गत आइतबार दिउँसो मलङ्गवा नगरपालिका–८ स्थित प्रादेशिक अस्पताल रोडमा रहेको एक सैलुनमा खानतलासी गरिएको थियो। खानतलासीका क्रममा सैलुनभित्र कुर्सीमाथि राखिएको कालो प्लास्टिकको झोलाभित्र लुकाइएको अवस्थामा एक थान कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद भयो।
उक्त सैलुन भारतको बिहार राज्यको सितामढी जिल्ला बाजपट्टी–१२ घर भएका ३८ वर्षीय राजेश कुमारले सञ्चालन गर्दै आएका थिए। अनुसन्धानका क्रममा सैलुनमा पेस्तोल राखेको आरोपमा बिहार राज्यकै सितामढी जिल्ला सोनवर्षा–१४ निवासी २३ वर्षीय डब्लु कुमारलाई पक्राउ गरिएको छ। त्यसैगरी, घटनामा सहयोग गरेको आरोपमा सितामढी जिल्ला सोनवर्षा–१ लालबनी निवासी ३६ वर्षीय महमद अबुलैसलाई पनि प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका दुवैविरुद्ध हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान जारी छ।
