समाचार

साउदी राजदूत र सभापति अन्सारीको भेट: श्रमिक समस्या, लगानी र हज यात्रीबारे भयो छलफल

By अर्जुन भट्टराई

साउदी राजदूत र सभापति अन्सारीको भेट: श्रमिक समस्या, लगानी र हज यात्रीबारे भयो छलफल

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको उद्योग, वाणिज्य तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारी र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मिएखरबीच भेटवार्ता भएको छ।

भेटमा नेपाल र साउदी अरबबीचको करिब पाँच दशक लामो कूटनीतिक सम्बन्धको समीक्षा गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा विस्तृत छलफल भयो। उद्योग, वाणिज्य र श्रम क्षेत्रमा कूटनीतिक सहकार्यलाई अझ प्रभावकारी बनाउने तरिकाबारे दुवै पक्षले धारणा राखे।

छलफलको मुख्य विषय साउदी अरबमा कार्यरत नेपाली श्रमिकको समस्या थियो। म्यानपावर कम्पनी तथा बिचौलियाबाट हुने ठगी, सीपको अभाव र सम्झौताअनुसारको काम नपाउने जस्ता समस्याहरू कसरी घटाउने भन्नेबारे कुरा भयो। यस सन्दर्भमा राजदूत मिएखरले साउदी सरकारले श्रमिकको सीप परीक्षण र व्यवस्थापनका लागि ल्याएको ‘एसभीपी’ कार्यक्रमबारे जानकारी दिए।

सभापति अन्सारीले साउदी जाने नेपाली श्रमिकको सुरक्षा, रोजगारीको सुनिश्चितता, सीप विकास र सहजीकरणका लागि संसदीय समितिले आवश्यक नीतिगत सुधारमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

भेटमा साउदी अरबबाट नेपालमा हुन सक्ने लगानीका सम्भावनाबारे पनि छलफल भयो। राजदूतले नेपालको पर्यटन क्षेत्रमा ठूलो सम्भावना रहेको भन्दै साउदी सरकार र लगानीकर्ताहरू यस क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताए। सभापति अन्सारीले साउदी लगानी आकर्षित गर्न नीतिगत सुधार र सहजीकरण गरिने विश्वास राजदूतमार्फत साउदी सरकार र लगानीकर्तालाई दिलाउन आग्रह गरे।

त्यसैगरी व्यापार, पर्यटन, वातावरण, हवाई सम्पर्क र सांस्कृतिक सम्बन्धका विषयमा पनि कुराकानी भयो। विशेषगरी प्रत्येक वर्ष नेपालबाट मक्का–मदिना जाने हज यात्रीहरूको व्यवस्थापन, उनीहरूले भोग्ने समस्याको समाधान र यात्रालाई थप सुव्यवस्थित बनाउने विषय पनि उठाइयो।

भेटको अन्त्यमा आगामी दिनमा दुवै देशका संसदीय समितिहरूबीच सहकार्य र संवादलाई थप विस्तार गर्नुपर्नेमा जोड दिइएको थियो।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.