समाचार

मिडिया हाउसमाथि त्रास र अवरोध सिर्जना गर्नु लोकतन्त्रविरुद्ध : पत्रकार ऋषि धमला

By अर्जुन भट्टराई

मिडिया हाउसमाथि त्रास र अवरोध सिर्जना गर्नु लोकतन्त्रविरुद्ध : पत्रकार ऋषि धमला

काठमाडौं। वरिष्ठ पत्रकार ऋषि धमलाले सञ्चार गृहमा डर, त्रास र अवरोध सिर्जना गर्ने गतिविधिलाई लोकतान्त्रिक मूल्य–मान्यताविरुद्धको कार्य भएको बताएका छन्।

नेपाल न्यूजबैंकसँगको कुराकानीमा धमलाले पछिल्लो समय नेपाली मिडिया क्षेत्रमा भइरहेका आक्रमण तथा सञ्चार गृहलाई लक्षित गतिविधिप्रति कडा आपत्ति जनाए। विशेष गरी कान्तिपुर मिडिया ग्रुप, हिमालयन टेलिभिजन र अनलाइनखबरको गेटमा लामो समयसम्म सवारीसाधन पार्किङ गरी अवरोध सिर्जना गरिएका घटनाहरूको उनले कडा शब्दमा निन्दा गरे।

‘कुनै पनि सञ्चार गृहमा आक्रमण गर्नु अथवा पार्किङको नाममा अवरोध सिर्जना गर्नु लोकतान्त्रिक मूल्य र मान्यताको विरुद्धको कार्य हो। अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हामी जहिल्यै उभिन्छौँ,’ उनले भने।

धमलाले यस्ता घटनाले अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्र र विधिको शासनमाथि नै प्रश्न उठाउने बताउँदै सरकारसँग तत्काल छानबिनको माग गरे। उनले घटनाको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी दोषीलाई कारबाही गर्नुपर्ने पनि बताए।

उनले लोकतन्त्रमा फरक विचार र दृष्टिकोणलाई स्वीकार गर्नुपर्ने भन्दै सञ्चार माध्यमले समाचार लेखेकै आधारमा धम्की र दबाब दिने प्रयास कुनै हालतमा पनि स्वीकार्य नहुने स्पष्ट पारे। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यस विषयमा वक्तव्य जारी गरिसकेको उल्लेख गर्दै उनले सरकारले यस्ता गतिविधि रोक्न स्पष्ट कदम चाल्नुपर्ने बताए।

‘नेपाली सञ्चार जगत जस्तोसुकै परिस्थितिमा पनि निर्भीक भएर स्वतन्त्र रूपमा सञ्चार सम्प्रेषण गर्न कहिल्यै सम्झौता गर्दैन,’ धमलाले भने।

सरकारको संलग्नता नरहेको भए पनि निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने उनको माग छ।

यसैबीच धमलाले सरकारले सरकारी सञ्चारमाध्यमलाई मात्रै विज्ञापन दिने निर्णयलाई गलत ठहराउँदै सर्वोच्च अदालतले उक्त निर्णय खारेज गरेकोमा स्वागत जनाए। उनले यस फैसलाले लोकतन्त्र, विधिको शासन र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा न्याय गरेको भन्दै न्यायालयप्रति धन्यवाद व्यक्त गर्दै स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउनुपर्ने धारणा राखे।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.