समाचार

मन्थलीमा शीतभण्डार सञ्चालनमा, मन्त्री पौडेलद्वारा उद्घाटन

By अर्जुन भट्टराई

मन्थलीमा शीतभण्डार सञ्चालनमा, मन्त्री पौडेलद्वारा उद्घाटन

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा निर्मित शीतभण्डारको बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलले मंगलबार उद्घाटन गरे। स्थानीय किसानले उत्पादन गरेका कृषि उपज सुरक्षित रूपमा भण्डारण गरी उचित मूल्य पाउन सकून् भन्ने उद्देश्यले यो शीतभण्डार निर्माण गरिएको हो।

यो शीतभण्डार बागमती प्रदेश सरकारको ७० प्रतिशत र मन्थली नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा बनेको हो। मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाका अनुसार २०७५ सालदेखि निर्माण सुरु भएको यो शीतभण्डार ५ करोड ३० लाख ९५ हजार रुपैयाँको लागतमा सम्पन्न भएको हो। घेराबारा तथा पालेघर निर्माणका लागि बागमती प्रदेश सरकारबाट थप ५० लाख रुपैयाँ अनुदान पनि प्राप्त भएको उनले जानकारी दिए।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले बागमती प्रदेश सरकारले किसानलाई लक्षित गरी विशेष कार्यक्रमहरू ल्याएको बताए। आगामी आर्थिक वर्षदेखि प्रदेशका सबै जिल्लामा कृषि तथा पशुपन्छी विकास कार्यालय स्थापना गरिने उनले घोषणा गरे। साथै, किसानले १० लाख रुपैयाँसम्म ऋण लिँदा लाग्ने ब्याज प्रदेश सरकारले तिरिदिने व्यवस्था भएको र कृषि तथा पशुपालन व्यवसायमा किसानलाई प्रोत्साहन गर्नु प्रदेश सरकारको नीति रहेको उनले स्पष्ट पारे। मन्थलीको शीतभण्डार किसानका लागि वरदान सावित हुनुपर्ने र यसको प्रभावकारी उपयोग हुनु आवश्यक रहेकोमा उनले जोड दिए।

मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले नगर कार्यपालिकाको बैठकबाट आवश्यक कार्यविधि निर्माण गरी शीतभण्डार सञ्चालनमा ल्याइने बताए। उनले किसानले पर्याप्त रासायनिक मल पाउन नसकेको समस्या उठाउँदै मलको सहज आपूर्तिका लागि प्रदेश सरकार र मन्त्री पौडेलसँग पहल गरिदिन आग्रह गरे।

यसअघि रामेछाप जिल्लामा एउटा पनि शीतभण्डार नहुँदा किसानले आफ्ना कृषि उपज लामो समयसम्म सुरक्षित राख्न सकिरहेका थिएनन्। अब शीतभण्डार सञ्चालनमा आएसँगै किसानले बेमौसममा आफ्नो उत्पादन बजारमा बिक्री गरेर राम्रो मूल्य पाउन सक्ने अपेक्षा गरिएको छ। यसले जिल्लाको कृषि उत्पादनको बजारीकरण, मूल्य संरक्षण तथा किसानको आम्दानी वृद्धिमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.