समाचार

आदिवासी जनजातिको ज्ञान उत्पादन र उपभोग दुवै बढाउनुपर्छ : अध्यक्ष थापा मगर

By अर्जुन भट्टराई

आदिवासी जनजातिको ज्ञान उत्पादन र उपभोग दुवै बढाउनुपर्छ : अध्यक्ष थापा मगर

काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासी जनजाति समुदायको ज्ञान उत्पादन र त्यसको उपभोग दुवै पक्ष अझै कमजोर रहेको बताएका छन्। उनले यस क्षेत्रमा सुधार ल्याउन तत्काल ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन्।

नेपाल आदिवासी ज्ञान सम्मेलन २०८२ को स्मारिका लोकार्पण तथा प्रशंसापत्र वितरण समारोहमा बोल्दै अध्यक्ष थापा मगरले भने, ‘हामी वास्तवमा ज्ञान उत्पादन र उपभोगमा कमजोर छौँ। धेरै रिपोर्टहरू हेर्दा अरूसँग तुलना गर्दा हाम्रा रिपोर्टहरू केही तलै छन् कि जस्तो लाग्छ।’

उनले ज्ञानको गुणस्तर बुझाउन प्रख्यात भूगोलविद् तथा योजनाविद् डा. हर्क गुरुङको उदाहरण दिए। डा. गुरुङले एक पृष्ठको कार्यपत्रमात्रैबाट नेपालको राजनीतिक प्रतिनिधित्व, आदिवासी जनजातिको अवस्था, आर्थिक तथा सामाजिक स्थिति र जनसंख्या जस्ता विषयमा गहिरो विश्लेषण प्रस्तुत गरेका थिए। ‘एक पाना कागजको डाटाबाट उहाँले जुन व्याख्या गर्नुभयो, त्यसले उहाँको ज्ञान उत्पादन र उपभोगको उच्च स्तर देखाउँथ्यो,’ उनले भने।

अध्यक्ष थापा मगरले आदिवासी जनजाति महासंघले प्रकाशन गरेको डा. हर्क गुरुङको पुस्तक ‘जनजाति सेरोफेरो’ ज्ञानको महत्वपूर्ण स्रोत भएको उल्लेख गर्दै यस्ता पुस्तकको अध्ययन र प्रयोग बढाउनुपर्ने बताए। उनले थपे, ‘राम्रो ज्ञान उत्पादन मात्र भएर पुग्दैन, त्यसको उपभोग पनि हुनुपर्छ। दुवै भयो भने मात्र त्यसले वास्तविक प्रभाव पार्छ।’

संस्थागत समन्वयका विषयमा उनले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति आयोगलाई एकअर्काका परिपूरकका रूपमा अघि बढाउनुपर्ने बताए। उनका अनुसार महासंघको संरचना जनस्तरसम्म पुगेकाले यो समुदायसँग प्रत्यक्ष जोडिएको छ भने आयोगको भूमिका नीतिगत तहमा प्रभाव पार्ने रहेको छ। ‘महासंघ, प्रतिष्ठान र आयोगका आफ्ना–आफ्ना उद्देश्य छन्। त्यसअनुसार काम गर्दै एकअर्काको सहयोगी बन्नुपर्छ,’ उनले भने।

संविधान संशोधनका विषयमा महासंघसँग समन्वय गरेर सुझाव लिइएको जानकारी दिँदै उनले समुदायका वास्तविक समस्या र मागलाई राज्यका निकायसम्म पुर्याउनुपर्नेमा जोड दिए। उनले सोलुखुम्बुको भ्रमणका क्रममा किरात समुदायले धार्मिक संस्कारमा गाईको प्रयोगसँग जोडिएको समस्या सुनाएको उदाहरण दिँदै राष्ट्रिय जनावरका रूपमा गैँडालाई राख्नुपर्ने सुझाव पनि यस्तै समुदायका अनुभव र पीडासँग जोडिएको बताए।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको पुनर्संरचना आवश्यक रहेको बताउँदै अध्यक्ष थापा मगरले नेतृत्व चयन प्रक्रिया पारदर्शी र योग्यतामा आधारित हुनुपर्ने बताए। ‘हामीले आफ्ना मान्छे वा पार्टी हेरेर नेतृत्व चयन गर्ने हो भने समस्या हामीबाटै सुरु हुन्छ। सक्षम र योग्य व्यक्ति ल्याउनुपर्छ,’ उनले भने। साथै प्रतिष्ठान लामो समय नेतृत्वविहीन अवस्थामा रहन नहुने भन्दै छिटो नियुक्ति प्रक्रिया अघि बढाउन सबै सरोकारवालालाई आग्रह गरे।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.