समाचार

मुगुको नेरघाटमा बेलीब्रिज बन्यो, तुइन र झोलुङ्गे पुलको जोखिमबाट मुक्त भए स्थानीय

By अर्जुन भट्टराई

मुगुको नेरघाटमा बेलीब्रिज बन्यो, तुइन र झोलुङ्गे पुलको जोखिमबाट मुक्त भए स्थानीय

मुगु । हिमाली जिल्ला मुगुको सोरु गाउँपालिका वडा नम्बर ५ नेरघाटमा बेलीब्रिज निर्माण सम्पन्न भएपछि यो क्षेत्र अब कर्णाली करिडोरसँग जोडिएको छ। यसले वर्षौंदेखि तुइन र झोलुङ्गे पुलको भरमा आवतजावत गर्दै आएका स्थानीयवासीको दैनिक जीवन सहज बनाएको छ।

पूर्वाधार विकास कार्यालय मुगुले २०८१ साल असार ४ गते ४ करोड ९४ लाख रुपैयाँमा ६० मिटर लामो यो पुलको ठेक्का आह्वान गरेको थियो। रिडार्क नेपाल प्रालि, ललितपुरले ठेक्का पाएको उक्त पुल २०८३ असार मसान्तमा निर्माण सम्पन्न भएको हो। हुम्ला कर्णाली नदीमा पानीको बहाव बढी हुनु र अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेका कारण निर्माण कार्य केही ढिलो भएको थियो।

पहिले यहाँका बासिन्दाले बाबियो घाँसको तुइन प्रयोग गर्थे, त्यसपछि झोलुङ्गे पुलको सहारा लिँदै आएका थिए। अब बेलीब्रिज बनेपछि मानिसमात्र नभई पशुचौपाया ओहोरदोहोर गराउन पनि सजिलो भएको स्थानीय विरुपक्ष शाहीले बताए।

यो पुलबाट नेर र ताजा गाउँका १५ सय भन्दा बढी नागरिकले दैनिक आवतजावत गर्न पाउनेछन्। साथै हुम्लाबासीले पनि यसको सुविधा लिन सक्ने पूर्वाधार विकास कार्यालय मुगुका सूचना अधिकारी मनमोहन सिंह खड्काले जानकारी दिए।

गाउँमा उत्पादित स्थानीय रैथाने बालीहरूले अब बजार पाउने भएकाले स्थानीयवासी खुशी छन्। पुल निर्माणले स्थानीय नागरिकको आयआर्जनमा पनि सुधार ल्याउने सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले बताए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.