काठमाडौं । सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्र हत्या गरेको अभियोगमा प्रहरीले शुक्रबार दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भारतको आसाम राज्यको गुहाटी मदनपुर निवासी २६ वर्षीय जावरूल हक र काठमाडौं बस्ने, ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–६ घर भएका २४ वर्षीय सरोज कार्की रहेका छन्। साइबर ब्यूरो भोटाहिटी, काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानमा खुलेअनुसार जावरूल हकले पीडित महिलाका अश्लील भिडियो र तस्विर दुरुपयोग गरी उनलाई ब्ल्याकमेल गर्दै अनुचित लाभका लागि बारम्बार दबाब दिएको थियो। आफ्नो माग पूरा नभएपछि उसले ती अश्लील सामग्रीहरू टिकटकमा अपलोड गरी महिलाको चरित्र हत्या गरेको पाइएको छ।
त्यसैगरी सरोज कार्कीले अध्ययनको क्रममा पीडितसँग चिनजान र प्रेम सम्बन्ध राखेको थियो। सम्बन्ध टुटेपछि उसले फेसबुकमार्फत अश्लील सामग्री पोस्ट गर्दै पीडितलाई दुःख, हैरानी र मानसिक तनाव दिने काम गरेको खुलेको छ।
दुवैजनाविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दायर गरिएको छ। जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिई प्रहरीले थप अनुसन्धान जारी राखेको छ।
