रामेछाप । रोशी खोलामा पानीको बहाव बढेपछि हिजो दिउँसोदेखि बन्द गरिएको बिपी राजमार्ग आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ।
खोलामा पानीको सतह अचानक बढेपछि सुरक्षा जोखिमलाई ध्यानमा राखी राजमार्गमा सवारी आवागमन रोकिएको थियो। पानीको सतह घटेसँगै सुरक्षा अवस्थाको मूल्याङ्कन गरेर आज बिहानदेखि सवारी सञ्चालन सुरु गरिएको हो।
राजमार्ग खुलेसँगै विभिन्न स्थानमा रोकिएका सवारीसाधनहरू गन्तव्यतर्फ लागेका छन्। प्रहरीले यात्रु तथा सवारी चालकलाई सुरक्षा सावधानी अपनाउँदै सचेत भएर यात्रा गर्न अनुरोध गरेको छ।
उल्लेखनीय छ, गत वर्ष रोशी खोलामा आएको बाढीले बिपी राजमार्गका विभिन्न खण्डमा ठूलो क्षति पुर्याएको थियो। ती क्षतिग्रस्त खण्डहरूको पुनर्निर्माण कार्य अहिले पनि जारी छ। हाल खोलामा डाइभर्सन निर्माण गरेर सवारी सञ्चालन गरिँदै आएको छ।
अस्थायी डाइभर्सनबाट यातायात सञ्चालन भइरहेकाले खोलामा पानीको सतह बढ्नेबित्तिकै सुरक्षाका कारण सवारी आवागमन बन्द गर्नुपर्ने अवस्था बारम्बार आउने गरेको छ। वर्षायाममा रोशी खोलाको बहाव जुनसुकै बेला बढ्न सक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न र प्रहरीलगायत सम्बन्धित निकायको निर्देशन पालना गर्न सबैलाई अनुरोध गरिएको छ।
