समाचार

दूरसञ्चार प्राधिकरणमा अर्जुन घिमिरे र प्रेस काउन्सिलमा उमेश श्रेष्ठ नियुक्त

By अर्जुन भट्टराई

दूरसञ्चार प्राधिकरणमा अर्जुन घिमिरे र प्रेस काउन्सिलमा उमेश श्रेष्ठ नियुक्त

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन्। मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार उनीहरूलाई यो जिम्मेवारी दिइएको हो।

नवनियुक्त दुवै अध्यक्षले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरे। दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष घिमिरेले आजै पद तथा गोपनीयताको शपथसमेत लिए।

नियुक्तिपत्र प्रदान गर्ने अवसरमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले भने— प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भएका दुवै अध्यक्षप्रति आफ्नो उच्च अपेक्षा रहेको छ। सिफारिस समितिले अन्य उम्मेदवारको तुलनामा यी दुई व्यक्ति न्यायपूर्ण, निष्पक्ष र परिणाममुखी ढङ्गले काम गर्न सक्षम छन् भन्ने विश्वासका आधारमा छनोट गरेको उनले बताए।

मन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रलाई थप जिम्मेवार, मर्यादित र प्रभावकारी बनाउन प्रेस काउन्सिलको भूमिका अत्यन्त महत्त्वपूर्ण रहने बताए। हाल गलत सूचना (मिसइन्फरमेसन) र दुष्प्रचार (डिसइन्फरमेसन) सञ्चार क्षेत्रका प्रमुख चुनौती बनेका छन्, त्यसको पहिचान गरी समाधानमुखी ढङ्गले अघि बढ्न उनले आग्रह गरे।

सञ्चार क्षेत्र बलियो बन्यो भने सबैभन्दा बढी फाइदा सञ्चार जगतले नै पाउने उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले काउन्सिलले यसका लागि आवश्यक सकारात्मक हस्तक्षेप गर्नुपर्ने बताए।

पुराना कानुन समयानुकूल परिमार्जन गर्ने क्रममा मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयकको मस्यौदामाथि छलफल अगाडि बढिसकेको जानकारी दिँदै उनले प्रेस काउन्सिललाई थप सक्षम र प्रभावकारी संस्थाका रूपमा विकास गर्नुपर्ने जोड दिए।

मन्त्री तिमिल्सिनाले दुवै नियामक निकायका प्रमुखलाई कानुन र विधिको सीमाभित्र रही नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिए। दूरसञ्चार क्षेत्रका समस्या समाधानमा विशेष ध्यान दिनुपर्ने र अधिकारको दुरुपयोग नगरी नागरिक सेवाको गुणस्तर उकास्नुपर्ने बताउँदै उनले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन कार्ययोजना बनाएर अघि बढ्न सुझाव दिए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.