काठमाडौं । अमेरिकी नागरिक तथा संस्कृतिविद् डा. आना एम सिस्टरले भानु जयन्तीको अवसरमा नेपाली श्लोक वाचन गरेर उपस्थित सबैको ध्यान आकर्षित गरिन्।
सोमबार काठमाडौंमा आयोजित एक विशेष समारोहमा बोल्दै डा. सिस्टरले २० वर्षअघि विद्यार्थीका रूपमा नेपाल आएको सम्झना गर्दै नेपाली भाषा सिक्दाका रोचक अनुभव साझा गरिन्। उनले नेपालमा आउनुअघि नै क्यासेट सुनेर नेपाली भाषा सिक्न थालेको बताइन् र त्यसबेला आफूले कहिल्यै यसरी सम्मानित हुने कल्पनासमेत नगरेको खुलाइन्।
नेपाली लोकसाहित्य, भाषा र संस्कृतिको प्रवर्द्धनमा लामो समयदेखि योगदान दिँदै आएकी डा. सिस्टरले कार्यक्रममा नेपालीमै मन्तव्य राखिन्। साथै, भानुभक्त आचार्यले नेपाली भाषामा अनुवाद गरेको रामायणका श्लोक वाचन र गीत प्रस्तुत गरिन्, जसलाई साहित्यप्रेमीहरूले निकै रुचिका साथ सुने।
उनको स्पष्ट उच्चारण, लयबद्ध प्रस्तुति र नेपाली भाषाप्रतिको गहिरो आत्मीयताले कार्यक्रममा उपस्थित साहित्यकार तथा सहभागी सबैलाई प्रभावित बनायो। उनले आफूले पाएको सम्मानलाई व्यक्तिगत उपलब्धि नभई नेपाली भाषा र संस्कृतिप्रतिको सम्मानका रूपमा लिएको बताइन्।
