समाचार

नेपालभर मनसुनको प्रभाव जारी, मकवानपुरगढीमा सर्वाधिक ११९.४ मिमि वर्षा

By अर्जुन भट्टराई

नेपालभर मनसुनको प्रभाव जारी, मकवानपुरगढीमा सर्वाधिक ११९.४ मिमि वर्षा

काठमाडौं । नेपालभर यस सोमबार मनसुनी वायुको प्रभाव कायम रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यस्तो जानकारी दिएको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि सरेर नेपालको तराई भू–भागनजिक आइपुगेकाले देशभरको मौसममा उल्लेख्य परिवर्तन आएको छ ।

पछिल्लो २४ घण्टाको तथ्यांक हेर्दा मकवानपुरको मकवानपुरगढी क्षेत्रमा सर्वाधिक ११९.४ मिलिमिटर वर्षा मापन गरिएको छ ।

विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्र तथा मधेस प्रदेश र तराईका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना छ । यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा असर पार्न सक्ने भएकाले सबैलाई सावधान रहन विभागले विशेष आग्रह गरेको छ ।

भारी वर्षाका कारण कर्रा खोला, साम्री खोला र बकैया खोला लगायतका साना खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ ।

यसअघि नै मोरङ लगायत देशका ३५ जिल्लामा बाढीको उच्च जोखिम रहेको भन्दै सम्बन्धित क्षेत्रका नागरिकलाई सतर्क रहन सूचना जारी गरिसकिएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.