जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अर्ब ६५ करोड २० लाख ३२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
सोमबार उपमहानगरपालिकाको सभाहलमा सम्पन्न १५औं नगरसभामा मेयर मनोज कुमार साहले नीति तथा कार्यक्रमसहित बजेटको विवरण प्रस्तुत गरे। उनले यस पटकको बजेटमा पर्यटन प्रवर्द्धन र सरसफाईलाई विशेष प्राथमिकतामा राखिएको जानकारी दिए।
मेयर साहका अनुसार बजेटको स्रोतमा आन्तरिक राजस्वबाट करिब २० करोड, नेपाल सरकारको समानीकरण अनुदानबाट ३० करोड ५९ लाख, प्रदेश सरकारको राजस्व बाँडफाँट र सशर्त अनुदानअन्तर्गतका आयोजनाका रकम तथा चालू आर्थिक वर्षमा बचत हुने रकम समावेश रहनेछन्।
यस आर्थिक वर्षमा एशियाली विकास बैंकको सहयोगमा सञ्चालन हुने शहरी उत्थानशीलता परियोजनाको ठेक्का प्रक्रिया अगाडि बढाइने पनि मेयर साहले बताए। यस परियोजनाका लागि एशियाली विकास बैंकको स्रोत र नगर विकास कोषको ऋण सहयोगका साथै नगरपालिकाको तर्फबाट समेत शीर्षकगत रूपमा कोष समायोजन गरिनेछ।
तथापि आन्तरिक स्रोतबाट नै यो रकम व्यवस्थापन गर्नुपर्ने हुँदा स्रोतमा केही चाप पर्ने मेयर साहले स्वीकार गरे। उनले यो योजना पूरा भएपछि नगरका सडक, नाला र सामाजिक-सांस्कृतिक पूर्वाधार थप व्यवस्थित हुने दाबी गरे।
बजेट प्रस्तुतिअघि नीति तथा कार्यक्रम पेस गरिएको थियो, जसमाथि विभिन्न वडाका वडासदस्यहरूले प्रश्न तथा जिज्ञासा राखेका थिए।
