काठमाडौं । नेपालमा खेल पर्यटन (स्पोर्ट्स टुरिजम) को सम्भावना उच्च रहेपनि यसको विकासका लागि अझै धेरै आधारहरू तयार गर्नुपर्ने देखिन्छ। खेलकुद र पर्यटनलाई एकसाथ जोडेर अघि बढाउन सकियो भने यसले नेपालको अर्थतन्त्र, गन्तव्य प्रवर्द्धन र रोजगारी सिर्जनामा उल्लेखनीय योगदान पुर्याउन सक्ने सरोकारवालाहरू बताउँछन्।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले नेपाल न्यूज बैंकसँगको कुराकानीमा पर्यटनलाई कुनै एउटा क्षेत्रसँग मात्र सीमित गरेर नबुझ्न आग्रह गरे। पर्यटन विभिन्न उद्देश्य, प्रेरणा र गतिविधिसँग जोडिने भएकाले खेलकुदसँग पनि यसको गहिरो सम्बन्ध रहेको उनले स्पष्ट पारे।
उनका अनुसार सामान्यतया पर्यटन भन्नाले घुम्न, बिदा बिताउन वा नयाँ ठाउँको अनुभव लिन जाने यात्रुलाई बुझिन्छ। तर पछिल्लो समयमा पर्यटनका नयाँ-नयाँ आयाम विकास हुँदै गएका छन्। नेपालमा पदयात्रा, पर्वतारोहण, राष्ट्रिय निकुञ्ज भ्रमण र सांस्कृतिक पर्यटनसँगै खेल पर्यटनको सम्भावना पनि फैलिँदै गएको उनले बताए।
‘नेपालको सन्दर्भमा खेल पर्यटन अहिले विकासको सुरुवाती चरणमा छ। यसको आधार तयार हुँदैछ। पछिल्ला वर्षहरूमा राष्ट्रिय खेलकुद प्रतियोगिता, क्रिकेट, फुटबल, भलिबललगायत खेलका लागि बनेका पूर्वाधारहरूले खेल पर्यटनको सम्भावनालाई बलियो बनाउँदै लगेका छन्,’ थपलियाले भने।
उनले खेल पर्यटनलाई दुई मुख्य पक्षबाट बुझ्नुपर्ने बताए। पहिलो, खेलाडी र खेलसँग प्रत्यक्ष जोडिएका व्यक्तिहरूको यात्रा र दोस्रो, खेलले प्रेरित गर्ने दर्शक तथा पर्यटकहरूको यात्रा। कुनै ठूलो खेल प्रतियोगिता हुँदा खेलाडी मात्र नभई दर्शक, समर्थक र पर्यटकसमेत सम्बन्धित स्थानमा पुग्ने भएकाले त्यसले पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने उनको भनाइ छ।
विश्वस्तरमा खेल पर्यटनको सबैभन्दा ठूलो उदाहरण फिफा विश्वकप रहेको उनले बताए। विश्वकप आयोजना हुँदा लाखौँ मानिस विभिन्न देशबाट आयोजक राष्ट्रमा पुग्छन् र यसले होटल, यातायात, रेस्टुरेन्ट, व्यापार तथा अन्य सेवा क्षेत्रमा ठूलो आर्थिक गतिविधि सिर्जना गर्छ।
‘विश्वकप जस्ता ठूला प्रतियोगिताले खेल पर्यटनको शक्ति देखाउँछन्। मानिसहरू खेल हेर्नकै लागि हजारौँ किलोमिटर यात्रा गर्छन्। यसले स्थानीयदेखि अन्तर्राष्ट्रिय अर्थतन्त्रसम्म प्रभाव पार्छ,’ उनले भने।
नेपालीहरू पनि विदेशमा आयोजना हुने ठूला खेल प्रतियोगिता हेर्न जाने क्रम बढेको उनले बताए। अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकपका खेल हेर्न नेपाली दर्शकहरू पुगेको उदाहरण दिँदै उनले नेपाली नागरिकहरू पनि खेल पर्यटक बन्न थालेको उल्लेख गरे।
थपलियाका अनुसार खेल पर्यटन केवल ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्र सीमित छैन। स्थानीयस्तरमा आयोजना हुने फुटबल, भलिबल, क्रिकेटलगायत प्रतियोगिताहरू पनि खेल पर्यटनकै हिस्सा हुन्।
‘दशैं, तिहार वा अन्य चाडपर्वका समयमा गाउँ-गाउँमा हुने खेल प्रतियोगिता हेर्न टाढा-टाढाबाट मानिसहरू आउँछन्। उनीहरू यात्रा गर्छन्, बस्छन्, खानपान गर्छन् र स्थानीय बजारमा खर्च गर्छन्। यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँछ,’ उनले भने।
नेपालको साहसिक खेल पर्यटनको सम्भावना झनै बलियो रहेको थपलियाले बताए। भौगोलिक विविधता, प्राकृतिक स्रोत र दक्ष जनशक्तिका कारण नेपाल साहसिक खेलका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने उनको भनाइ छ। बन्जी जम्प, प्याराग्लाइडिङ, माउन्टेन बाइकिङ, ट्रेकिङ, र्याफ्टिङ, पर्वतारोहण, क्लाइम्बिङ, स्किइङ र स्काई डाइभिङलगायत गतिविधिले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गरिरहेको उनले बताए।
‘साहसिक खेल पर्यटनमा नेपालसँग ठूलो सम्भावना छ। हाम्रो भूगोल, उचाइ र दक्ष जनशक्ति यसको मुख्य आधार हुन्। हिमाली क्षेत्रमा काम गर्ने नेपाली जनशक्ति अन्तर्राष्ट्रियस्तरमै परिचित छन्,’ उनले भने।
खेल पर्यटन विकासका लागि सबैभन्दा महत्वपूर्ण कुरा पूर्वाधार भएको थपलियाले जोड दिए। खेल खेल्न सक्ने संरचना, व्यवस्थित व्यवस्थापन र अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्ने क्षमता विकास गर्नु आवश्यक रहेको उनले बताए। यसका लागि खेलकुद संघ-संस्था, पर्यटन क्षेत्र, निजी क्षेत्र र सरकारबीच सहकार्य अपरिहार्य भएको उनको भनाइ छ।
‘खेल भइरहेको ठाउँमा मानिसहरू पर्यटकका रूपमा आउन सक्ने वातावरण बनाउनुपर्छ। खेल र पर्यटनलाई प्याकेजका रूपमा विकास गर्न सके त्यसले ठूलो आर्थिक मूल्य सिर्जना गर्न सक्छ,’ उनले भने।
पछिल्लो समय नेपालमा क्रिकेटको नेपाल प्रिमियर लिग, नेपाल सुपर लिग, भलिबल तथा अन्य खेलका लिगहरूले खेल पर्यटनको आधार तयार गरिरहेको उनले बताए। यस्ता प्रतियोगितालाई थप व्यवस्थित तरिकाले प्रवर्द्धन गर्न सके घरेलु तथा विदेशी पर्यटकहरू आकर्षित गर्न सकिने उनको विश्वास छ।
पर्यटन बोर्डले विभिन्न खेल संघहरूसँग सहकार्य गर्दै प्रतियोगिताको स्तर र प्रभाव हेरेर प्रवर्द्धनमा सहयोग गर्दै आएको उनले जानकारी दिए।
थपलियाले आगामी ८ देखि १० वर्षमा नेपालले खेल पर्यटनमा उल्लेखनीय प्रगति गर्न सक्ने विश्वास व्यक्त गरे। अहिले खेल पर्यटनका आधारहरू निर्माण भइरहेका छन् र सबै पक्षको सहकार्य जुटेमा नेपालले अन्तर्राष्ट्रियस्तरमा आफ्नो पहिचान बनाउन सक्ने उनको भनाइ छ।
‘पूर्वाधार, खेल क्षमता र सबै सरोकारवालाको सहकार्य भयो भने नेपालमा खेल पर्यटनको राम्रो भविष्य छ। अहिले हामी सुरुवाती चरणमा छौँ, तर आउने दिनमा यसले ठूलो आकार लिन सक्छ,’ उनले भने।
