काठमाडौं । अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर मिडिया हाउसको कार्यालयअगाडि शंकास्पद रूपमा पार्क गरिएका गाडीमा कुनै सुरक्षा खतरा नरहेको प्रहरीले स्पष्ट पारेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले नेपाल न्यूज बैंकसँग कुरा गर्दै भने, ‘अनामनगरस्थित भाटभटेनी र कान्तिपुर पब्लिकेसनअगाडि पार्क गरिएका गाडीको राम्ररी निरीक्षण र जाँच गरियो। तर कुनै शंकास्पद वस्तु वा आपराधिक गतिविधिसँग सम्बन्धित सामग्री भेटिएन।’
उनका अनुसार प्रहरीले दुई कोणबाट गाडीको जाँच गरेको थियो — पहिलो, कुनै शंकास्पद वस्तु छ कि छैन र दोस्रो, आपराधिक गतिविधिसँग जोडिएको कुनै सामग्री छ कि छैन। जाँचमा कुनै पनि सुरक्षा जोखिम नदेखिएपछि ती गाडीलाई अनधिकृत स्थानमा पार्किङ गरिएको कारण कारबाहीका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानामा पठाइएको छ।
एसपी भट्टराईले अनलाइनखबर र हिमालय टेलिभिजनअगाडि रहेका गाडीलाई पनि बग्गीखाना लैजाने तयारी भइरहेको जानकारी दिए। सार्वजनिक आवागमनमा अवरोध हुने गरी अनधिकृत रूपमा पार्किङ गरिएकाले ती गाडी हटाइएको उनले बताए।
