समाचार

रामेछापको लाछेवारमा ठूलो पहिरो : होटल र दुई पक्की पुल बगे, दुगड हाइड्रोको ड्यामसाइटमा पनि क्षति

By अर्जुन भट्टराई

रामेछापको लाछेवारमा ठूलो पहिरो : होटल र दुई पक्की पुल बगे, दुगड हाइड्रोको ड्यामसाइटमा पनि क्षति

रामेछाप । गएराति परेको भारी वर्षापछि रामेछापको उमाकुण्ड गाउँपालिका–१ स्थित लाछेवार क्षेत्रमा ठूलो पहिरो गएको छ। यो क्षेत्र उक्त गाउँपालिकाको अन्तिम मानव बस्ती हो।

स्थानीय ग्याल्जेन शेर्पाका अनुसार पहिरोपछि ठाडोखोलामा आएको बाढीले लाछेवारको एउटा होटल पूर्ण रूपमा बगाएको छ। साथै, ७७ मेगावाट क्षमताको दुगड हाइड्रोपावर आयोजनाको ड्याम क्षेत्रमा पनि उल्लेखनीय क्षति पुगेको प्रारम्भिक जानकारी आएको छ।

शेर्पाले थपे कि पहिरो र भारी वर्षाका कारण उक्त क्षेत्रका दुईवटा मोटरेबल पुल पनि बगाइएका छन्। पुल र सडकमा क्षति पुगेसँगै हाल लाछेवार जाने सम्पूर्ण सडक सम्पर्क अवरुद्ध भएको छ।

घटनाबाट भएको मानवीय र भौतिक क्षतिको विस्तृत विवरण भने अझै आउन बाँकी छ। सम्बन्धित सरकारी तथा सुरक्षा निकायले आधिकारिक विवरण सार्वजनिक गरिसकेका छैनन्।

अविरल वर्षासँगै पहिरोको जोखिम कायमै रहेकाले स्थानीयवासीलाई सुरक्षित स्थानमा रहन, अत्यावश्यकबाहेक यात्रा नगर्न र सम्बन्धित निकायका आधिकारिक सूचना पछ्याउन आग्रह गरिएको छ। घटनासम्बन्धी थप विवरण आउने क्रम जारी छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.