दोलखाको कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोल क्षेत्रमा गएराति करिब ९ बजे पहिरो खस्दा चार महिनाकी शिशु एलिना थामीको ज्यान गएको छ। उनकी १९ वर्षीया आमा शर्मिला थामी गम्भीर घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोषकुमार खड्काका अनुसार शर्मिला आफ्नी चार महिनाकी छोरी एलिनालाई काखमा बोकेर भीमेश्वर नगरपालिका–१ सुस्पास्थित माइतीघरबाट बोलेरो गाडीमा घर फर्किंदै थिइन्।
सुनखानी–साङवा सडकखण्डअन्तर्गत क्याङ्पोल–हेलेक्पाथाली क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएपछि उनीहरू गाडीबाट ओर्लिएर पैदल हिँड्न थाले। यात्राकै क्रममा माथिबाट अचानक थप पहिरो खस्दा आमा–छोरी दुवै पुरिए।
स्थानीयवासीले तत्काल उद्धार गरी दुवैलाई दोलखास्थित बाँडुलिखेल अस्पतालको शाखामा पुर्याए। तर अस्पताल पुग्दासम्म शिशु एलिना थामीको ज्यान गइसकेको थियो र चिकित्सकले उनलाई मृत घोषणा गरे। गम्भीर घाइते शर्मिला थामीलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ।
अविरल वर्षासँगै पहाडी जिल्लाहरूमा बाढी र पहिरोको जोखिम बढ्दै गएको छ। जोखिमयुक्त सडक र बस्तीमा आवतजावत गर्दा उच्च सतर्कता अपनाउन तथा जोखिमको अवस्थामा सुरक्षित ठाउँमा बस्न सम्बन्धित निकायले सर्वसाधारणलाई आग्रह गरेको छ।
