समाचार

स्वतन्त्र चालक फाउण्डेशनको माग : राइडरको हक र सुरक्षाका लागि सरकार गम्भीर बनोस्

By अर्जुन भट्टराई

स्वतन्त्र चालक फाउण्डेशनको माग : राइडरको हक र सुरक्षाका लागि सरकार गम्भीर बनोस्

काठमाडौं । पाथाओ राइडर गणेश नेपालीको निधनपछि स्वतन्त्र चालक फाउण्डेशनले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

फाउण्डेशनले एक विज्ञप्ति जारी गर्दै घटनापछि नेपाल सरकार, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, पीडित परिवार र वार्ता टोलीबीच भएको ९ बुँदे सहमतिलाई सकारात्मक रूपमा स्वागत गरेको छ। साथै, यो सहमति कागजमा मात्र सीमित नरही पूर्ण रूपमा कार्यान्वयन होस् भनी सम्बन्धित निकायसँग आग्रह गरेको छ।

फाउण्डेशनले घटनाको निष्पक्ष छानबिनका लागि गठन हुने उच्चस्तरीय स्वतन्त्र छानबिन समितिको प्रतिवेदन पारदर्शी र समयमै सार्वजनिक गर्नुपर्ने, पीडित परिवारलाई राहत दिनुपर्ने, आश्रित परिवारको शिक्षा तथा रोजगारीको व्यवस्था मिलाउनुपर्ने र दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने माग राखेको छ।

राइडर समुदायको सुरक्षा, सम्मान र पेशागत अधिकारका विषयमा गम्भीर ध्यान दिन सरकारसँग आग्रह गर्दै फाउण्डेशनले डिजिटल प्लेटफर्ममा कार्यरत राइडरहरू स्वरोजगार हुन् कि श्रमिक भन्ने विषयमा स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने माग अघि सारेको छ।

बढ्दो महँगी, इन्धन खर्च, सवारीसाधन मर्मत तथा दैनिक सञ्चालन खर्चलाई ध्यानमा राखेर राइडरहरूको न्यूनतम भाडादर वैज्ञानिक आधारमा तोक्नुपर्ने, राइडरहरूका लागि बीमा, दुर्घटना राहत तथा सामाजिक सुरक्षासम्बन्धी स्पष्ट नीति बनाउनुपर्ने माग पनि फाउण्डेशनले राखेको छ।

भविष्यमा यस्ता दुखद घटना दोहोरिन नदिन सरकारी निकाय, प्लेटफर्म कम्पनी र राइडर प्रतिनिधिबीच समन्वय गरी दीर्घकालीन समाधान खोज्नुपर्ने फाउण्डेशनको धारणा छ।

फाउण्डेशनले यस अभियानमा साथ दिने सरकार, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सञ्चारकर्मी, सामाजिक अभियन्ता, विभिन्न संघसंस्था र सम्पूर्ण राइडर समुदायप्रति आभार व्यक्त गरेको छ। आन्दोलनमा सक्रिय भूमिका खेल्ने वार्ता टोली, केन्द्रीय तथा स्थानीय पदाधिकारी, जिल्ला संयोजक र स्वयंसेवकहरूको एकता र योगदानको समेत प्रशंसा गरेको छ।

अन्तमा, फाउण्डेशनले ९ बुँदे सहमति समयमै कार्यान्वयन हुने र दोषीमाथि कानुनी कारबाही हुने विश्वास व्यक्त गर्दै सम्पूर्ण राइडर समुदायलाई संयमता अपनाएर शान्तिपूर्ण र कानुनी माध्यमबाट आफ्ना अधिकारका लागि आवाज उठाउन आग्रह गरेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.