काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक रहेको छ।
यसको असरले कोशी, गण्डकी र बागमती प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा अति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। साथै यी तीनै प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका धेरै स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमस्तरसम्मको वर्षा तथा हिमपात हुन सक्छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई क्षेत्रका धेरै स्थानमा, मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रमा तथा कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमस्तरसम्मको वर्षा पर्ने अनुमान गरिएको छ।
आज राति कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रका धेरै स्थान, गण्डकी प्रदेशको हिमाली क्षेत्रका केही स्थान र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली र तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यमस्तरसम्मको वर्षा हुने सम्भावना छ।
मनसुन सक्रिय रहेकाले भारीदेखि अति भारी वर्षाको जोखिम छ। यसबाट ढलान बहाव, बाढी, पहिरो र भू-क्षय हुन सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दाले सावधान रहन महाशाखाले अनुरोध गरेको छ। वर्षाको यो अवस्थाले दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक र हवाई यातायातमा समेत असर पार्न सक्ने महाशाखाले जनाएको छ।
