समाचार

विमानस्थलबाट घर पुर्याएपछि दुर्गा प्रसाईँको सरकारमाथि कडा प्रहार : ‘यो सरकार नेपालीहरूको होइन’

By अर्जुन भट्टराई

विमानस्थलबाट घर पुर्याएपछि दुर्गा प्रसाईँको सरकारमाथि कडा प्रहार : ‘यो सरकार नेपालीहरूको होइन’

काठमाडौं । राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै प्रहरीले नियन्त्रणमा लिई भक्तपुरस्थित उनको निवास पुर्याएको छ। प्रसाईँ झापाबाट काठमाडौं फर्किएका थिए।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईको टोलीले विमानस्थलमै उनलाई नियन्त्रणमा लिएर प्रहरीको आफ्नै सवारीसाधनमार्फत घर पुर्याई छाडेको जनाइएको छ। प्रसाईँले काठमाडौं आएलगत्तै सुकुम्बासी समस्या, आत्मदाहका घटना र पीडित नागरिकको अवस्थाबारे विशेष सम्बोधन गर्ने कार्यक्रम राखेका थिए।

घर पुगेपछि तुरुन्तै आयोजित पत्रकार सम्मेलनमा प्रसाईँले सरकारमाथि कडा आलोचना गरे। उनले भने, ‘सर्वहारा वर्ग, घरबारविहीन मानिसहरू सडकमा पुगेका छन्। यति मात्र होइन, शरीरमा पेट्रोल छर्काएर आत्मदाह गर्न थाले। देश भनेको हरेक परिवार मिलेर बनेको हो। आज त्यो परिवार कसैको पनि घरमा छैन। यो सुरुवात मात्रै हो।’

उनले पछिल्लो ३५ वर्षमा राजनीतिक दलहरूले भ्रष्टाचार, शोषण र आर्थिक अनियमितता गरेको आरोप लगाउँदै भने, ‘३५ वर्षसम्म दलहरूले एकलौटी शासन गरे, भ्रष्टाचार गरे, शोषण गरे। लघुवित्त पनि उनीहरूले नै चलाए, सहकारी पनि उनीहरूले नै चलाए, तस्करहरूसँग पार्टनरसिप पनि उनीहरूले नै गरे। यही कारण जनताले साथ दिएर यो नयाँ सरकार ल्याएका हुन्।’

तर अहिलेको सरकारले पनि जनअपेक्षा पूरा नगरेको दाबी गर्दै उनले सुकुम्बासी बस्ती हटाउने कार्यप्रति असन्तुष्टि जनाए। उनले भने, ‘यो नयाँ सरकारले जसको भोट हो, उसैको घर भत्काइदियो। जसले भोट दियो, उसैका घर भत्काएर पानीमा डुब्छ भनेर उठाएर लगे, अनि अन्तमा पानीमै डुबाएर छोडे।’

सवारी साधनमा लाग्ने जरिवानाको विषयमा प्रसाईँले भने, ‘विश्वका धेरै देशमा पहिले सडक र पूर्वाधार बनाइन्छ, त्यसपछि जरिवाना गरिन्छ। तर नेपालमा न राम्रो पूर्वाधार छ, न राम्रो बाटो छ। यहाँ चाहिँ आवश्यकताभन्दा बढी जरिवाना लगाइएको छ, जसलाई जोसुकैले पनि थेग्न सक्दैन।’

आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई सरकारले जागिर, क्षतिपूर्ति र बच्चाको शिक्षाको व्यवस्था गर्ने घोषणा गरेकोमा प्रश्न उठाउँदै प्रसाईँले भने, ‘के बच्चाहरू पढाउनका लागि सबैले गणेश नेपाली नै हुनुपर्ने हो? नेपालीहरूले आत्मदाह गर्नुपर्ने हो? घरबारविहीनहरूले अब त्यही गर्नुपर्ने हो?’

उनले देशमा दैनिक २२ देखि २५ जनाले झुण्डिएर ज्यान गुमाइरहेको दाबी गर्दै सरकारको ध्यान नपुगेको आरोप लगाए। उनले थपे, ‘किन यसतर्फ सरकारको आँखा पुग्दैन? यो सरकार हाम्रो सरकार होइन, नेपालीहरूको सरकार होइन। आज नेपालीले खोलाको डिलमा समेत बास पाएनन्। यस्तो हृदयविदारक कथा अमेरिकाका निर्देशकहरूले भेट्टाए भने त्यसैमा फिल्म बनाएर अस्कार पुरस्कार जित्न सक्थे।’

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.