टोरन्टो। सहयात्रा–इन्टरनेसनल एलायन्स फर सोसल जस्टिसले २५ वर्षीय गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै यस घटनाको स्वतन्त्र, पारदर्शी र निष्पक्ष छानबिन गर्न नेपाल सरकारसँग माग गरेको छ।\n\nसञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार दलित समुदायका युवा गणेश नेपाली बिहीबार दिउँसो काठमाडौंस्थित एक सरकारी कार्यालयमा राहदानी बनाउन पुगेका थिए। त्यहाँ निषेधित स्थानमा मोटरसाइकल पार्क गरेको आरोपमा महानगरीय प्रहरी कर्मचारीहरूले उनलाई रु. १० हजार जरिवाना गरे। यही विवाद चर्किंदै जाँदा उनी गम्भीर मानसिक तनावमा पुगे र आफ्नै मोटरसाइकलको ट्याङ्कीबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएका कारण उनको मृत्यु भयो।\n\nसंगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गणेश नेपालीको मृत्यु न्याय, समानता र राज्यको जवाफदेहिताको एउटा महत्वपूर्ण परीक्षा हो।” संगठनले यस घटनाले राज्यसत्ताको प्रयोग, कानुनअन्तर्गत समान व्यवहार र प्रत्येक नागरिकको सम्मान तथा अधिकार संरक्षण गर्ने सार्वजनिक संस्थाहरूको दायित्वबारे गम्भीर प्रश्न उठाएको जनाएको छ।\n\nसंगठनले अमेरिकामा जर्ज फ्लोयडको मृत्यु र यस घटनाको परिस्थिति फरक भए पनि दुवैले संस्थागत असफलताले मानव जीवनमा पार्न सक्ने गम्भीर प्रभावबारे साझा सन्देश दिएको उल्लेख गरेको छ।\n\nसंगठनले अनुसन्धानका क्रममा गणेश नेपालीले कानुनबमोजिम समान व्यवहार पाए वा पाएनन् र उनको जातीय पहिचानले घटनाको व्यवस्थापन वा व्यवहारमा कुनै प्रभाव पारेको थियो वा थिएन भन्ने विषय पनि निष्पक्ष रूपमा जाँचिनुपर्ने बताएको छ। विज्ञप्तिमा यो प्रश्न पनि उठाइएको छ कि उनको थर ‘नेपाली’ नभई ‘शर्मा’ जस्तो सामाजिक रूपमा विशेषाधिकार प्राप्त समुदायको भएको भए पनि यस्तै दबाब वा दण्डात्मक व्यवहार हुन्थ्यो कि हुँदैनथ्यो — यसको जवाफ अनुमानका आधारमा होइन, निष्पक्ष अनुसन्धानका आधारमा खोजिनुपर्छ।\n\nसहयात्राले नेपाल सरकारसँग राजनीतिक वा संस्थागत प्रभावबाट मुक्त स्वतन्त्र अनुसन्धान समिति गठन गरी घटनाको सत्यतथ्य सार्वजनिक गर्न र यस्ता दुःखद घटना दोहोरिन नदिन आवश्यक नीतिगत तथा संस्थागत सुधार लागू गर्न आग्रह गरेको छ। साथै, गणेश नेपालीका शोकसन्तप्त परिवारलाई उचित क्षतिपूर्ति, मनोसामाजिक परामर्श तथा दीर्घकालीन सहयोग उपलब्ध गराउन पनि सरकारसँग अपिल गरिएको छ।
गणेश नेपालीको मृत्युको स्वतन्त्र छानबिनको माग, सहयात्रा–इन्टरनेसनल एलायन्स फर सोसल जस्टिस मैदानमा
By अर्जुन भट्टराई •
Related Posts
समाचार
नागपञ्चमी: मानव र प्रकृतिबीचको सहअस्तित्वको प्रतीक
१ भदौ २०८३
समाचार
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६२ जनालाई कारबाही
१ भदौ २०८३
समाचार
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
३१ श्रावण २०८३
