रामेछाप । रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को तेस्रो चौमासिक अवधिसम्म कुल बजेटको ६८.७ प्रतिशत खर्च गरेको छ भने राजस्व सङ्कलनमा पनि उल्लेखनीय प्रगति हासिल गरेको छ।
नगर कार्यपालिकाको कार्यालयले आइतबार आयोजना गरेको सम्पन्न आयोजना तथा कार्यक्रमहरूको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले वित्तीय तथा कार्यक्रमगत प्रगति विवरण सार्वजनिक गरे।
उनले दिएको जानकारीअनुसार चालु खर्चतर्फ विनियोजित ५१ करोड ६३ लाख ४५ हजार ७७४ रुपैयाँ १० पैसामध्ये ४३ करोड ५५ लाख ८७ हजार ८७ रुपैयाँ ६ पैसा अर्थात् ८४.३६ प्रतिशत खर्च भएको छ। त्यसैगरी पुँजीगत खर्चतर्फ विनियोजित ३३ करोड ७३ लाख ४२ हजार ९७ रुपैयाँ ५६ पैसामध्ये १५ करोड ९ लाख २३ हजार ६४५ रुपैयाँ ५६ पैसा अर्थात् ४४.७४ प्रतिशत मात्र खर्च भएको छ।
नगरपालिकाको कुल अनुमानित बजेट ८५ करोड ३६ लाख ८७ हजार ८७१ रुपैयाँ ६६ पैसा रहेकोमा तेस्रो चौमासिकसम्म ५८ करोड ६५ लाख १० हजार ७३२ रुपैयाँ ६२ पैसा खर्च भएको छ, जुन कुल बजेटको ६८.७ प्रतिशत हो।
राजस्व सङ्कलनतर्फ वार्षिक लक्ष्य १ करोड १७ लाख ७४ हजार ७ सय रुपैयाँ रहेकोमा तेस्रो चौमासिकसम्म नै लक्ष्यको ९१.७९ प्रतिशत राजस्व सङ्कलन भइसकेको सुवेदीले जानकारी दिए।
नगर उपप्रमुख बाला कुमारी कार्कीले सीमित स्रोत–साधनका बाबजुद नगरपालिकाले नागरिकमुखी सेवा, सुशासन र विकास निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन्। जनप्रतिनिधि र कर्मचारीबिचको समन्वय थप प्रभावकारी बनाउँदै सेवा र विकासका काम अझ व्यवस्थित रूपमा अघि बढाइने उनको भनाइ थियो।
सार्वजनिक सुनुवाइ कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीयवासीको सहभागिता रहेको थियो। सहभागीहरूले सेवा प्रवाह, विकास आयोजना र बजेट कार्यान्वयनका विषयमा जिज्ञासा, सुझाव तथा धारणा राखे, जसको नगरपालिकाका तर्फबाट जवाफ दिइयो। सुनुवाइमार्फत प्राप्त सुझाव र प्रतिक्रियालाई आगामी नीति, योजना तथा सेवा प्रवाह सुधारमा उपयोग गरिने नगरपालिकाले प्रतिबद्धता जनाएको छ।
