काठमाडौंको लक्ष्य लिएर जनकपुरबाट थालिएको मिटरब्याज पीडितको न्याय मार्च चौथो दिनमा सर्लाहीको हरिवन आइपुगेको छ।
हिजो महोत्तरीको बर्दिबासस्थित पञ्चधुरी माइथानबाट यात्रा सुरु गरेका पीडितहरूले करिब २६ किलोमिटर हिँडेर साँझ सर्लाहीकै लालबन्दीमा विश्राम गरेका थिए। आज बिहान ७ बजेदेखि फेरि यात्रा अगाडि बढाइएको हो।
चार दिनअघि जनकपुरधामको तिरहुतियागाछीमा फर्जी तमसुक जलाएर यो न्याय मार्चको सुरुवात गरिएको थियो। उल्लेखनीय छ कि यही स्थानमा गत निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो चुनावी सभा आयोजना गरेको थियो।
आन्दोलनकारीहरूका अनुसार प्रधानमन्त्री वालेन्द्र साहले जनकपुरधामबाटै मिटरब्याज पीडितको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तर पद सम्हालेको सय दिन बितिसक्दा पनि कुनै ठोस पहल नभएको भन्दै पीडितहरूले गुनासो गरेका छन्।
यस मार्चमा देशका ४५ जिल्लाका चार सयभन्दा बढी मिटरब्याज पीडित सहभागी छन्। लगातार चार दिन पैदल हिँडिरहेकाले अधिकांश सहभागीका खुट्टामा पानीका फोका र ठेला उठ्न थालेका छन्। शारीरिक कष्ट भए पनि आन्दोलन जारी राख्ने उनीहरूको दृढ अडान रहेको छ।
हरिवन पुगेपछि पीडितहरूले चिउरा र आँप खाएर केहीबेर विश्राम गरे र त्यसपछि फेरि काठमाडौंतर्फ यात्रा अगाडि बढाएका छन्।
न्याय मार्चप्रति हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकीले पनि ऐक्यबद्धता जनाएका छन्। उनले केही समय पीडितहरूसँगै पैदल हिँडेर आन्दोलनमा सहभागिता जनाए र नाराबाजीसमेत गरे।
आन्दोलनकारीहरूका मुख्य माग यस प्रकार छन्: तमसुकको विद्यमान व्यवस्था खारेज गर्ने, मिटरब्याज पीडितको संरक्षणका लागि विशेष कानुन बनाउने, अनुचित रूपमा गुमेको चल तथा अचल सम्पत्ति फिर्ता गराउने र पीडितलाई न्याय सुनिश्चित गर्ने। उनीहरूको लक्ष्य साउनको दोस्रो सातासम्म काठमाडौं पुगेर सरकारसमक्ष आफ्ना माग औपचारिक रूपमा प्रस्तुत गर्ने रहेको छ।
