समाचार

रासायनिक मलको अभावमै रोपाई गर्न बाध्य भए सूदूरपश्चिमका किसान

By अर्जुन भट्टराई

रासायनिक मलको अभावमै रोपाई गर्न बाध्य भए सूदूरपश्चिमका किसान

धनगढी । यस वर्ष पनि सूदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो। लामो समयसम्म मल पाउने आशामा बसेका किसान अन्ततः मल बिनै रोपाई गर्न बाध्य भएका छन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर–३ का मनबहादुर चौधरी असार तेस्रो साता पुग्दासम्म पनि रासायनिक मलको प्रतीक्षामा बसे। मलका लागि यहाँका हरेक सहकारीमा धाए, तर कतै पनि मल नपाएपछि उनी मल बिनै रोपाईमा जुटेका छन्।

‘मलको प्रतीक्षामा रोपाई नै ढिलो हुन थाल्यो,’ चौधरीले भने, ‘अहिले रोपाई सुरु गरेको छु, तर मल पाएको छैन।’ उनका अनुसार धान रोपाईका लागि डिएपि मल आवश्यक पर्छ, तर यस पटक रोपाई सकिने समयसम्म पनि मल उपलब्ध हुन सकेन।

मनबहादुर जस्तै सूदूरपश्चिमभर रासायनिक मलका लागि भौतारिने किसानको संख्या धेरै छ। कैलाली र कञ्चनपुरका धेरै किसानले यस पटक रासायनिक मल बिनै रोपाई गर्नुपरेको छ।

सरकारी अनुदानमा रासायनिक मल वितरण गर्ने कृषि सामग्री केन्द्र लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका धनगढी कार्यालयका अनुसार यस वर्ष गत वर्षको तुलनामा कम मल उपलब्ध भएको छ, जसका कारण रोपाईका बेला मलको अभाव देखिएको हो।

कृषि सामग्री केन्द्र लिमिटेड सूदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रादेशिक प्रबन्धक नवलसिंह बोगटीले भने, ‘यस वर्ष विगतको भन्दा कम मल आयात हुँदा किसानले मल पाउन सकेका छैनन्, यो यथार्थ हो। नआएको भने होइन, अहिले पनि जसोतसो वितरण भइरहेको छ।’

बोगटीका अनुसार यस वर्ष फागुनयता सूदूरपश्चिममा डिएपि मल आयात हुन सकेको छैन। ‘फागुनपछि डिएपि उपलब्ध भएको छैन,’ उनले भने, ‘भएको थोरै मौज्दात सहकारीलाई थोरै–थोरै गरेर वितरण गरिरहेका छौं, तर त्यो पर्याप्त छैन।’

उनका अनुसार गत साउनदेखि फागुनसम्म सूदूरपश्चिम प्रदेशमा १५ हजार ३ सय २७ मेट्रिकटन युरिया, ८ हजार ३ सय ८० मेट्रिकटन डिएपि र ८ सय १६ मेट्रिकटन पोटास वितरण गरिएको थियो। हाल ३ सय ३० मेट्रिकटन युरिया, ३ सय ६ मेट्रिकटन डिएपि र १ सय २९ मेट्रिकटन पोटास मौज्दात रहेको छ। विक्री भएको मलमध्ये अधिकांश हिउँदे बालीमा प्रयोग भइसकेकाले धानका लागि मल अपुग भएको उनले जानकारी दिए।

सूदूरपश्चिममा धान खेतीका लागि मात्रै कम्तिमा ८ हजार मेट्रिकटन डिएपि आवश्यक पर्ने गर्दछ। यस वर्ष अमेरिका र इरानबिचको युद्धका कारण पनि समयमै रासायनिक मल आयात हुन समस्या भएको बोगटीले बताए।

साल्ट ट्रेडिङ कर्पोरेसन सूदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख तेजबहादुर कुँवरले पनि यस वर्ष रासायनिक मलको अभाव झनै बढी रहेको बताए। उनले पनि अमेरिका–इरान युद्धको प्रभावका कारण यस पटक मल अभाव हुने अवस्था आएको उल्लेख गरे।

‘आउँदै नआएको भन्ने होइन,’ उनले भने, ‘तर तुलनात्मक रूपमा केही कम मल आएको छ, जसले धान रोपाईका बेला किसानलाई समस्या परेको छ।’

कुँवरका अनुसार गत साउनदेखि हालसम्म ५ हजार ७१ दशमलव ६० मेट्रिकटन युरिया, ५ हजार ७ सय ८१ मेट्रिकटन डिएपि र २ सय ६४ मेट्रिकटन पोटास भित्रिएको छ। असार २६ गतेसम्म ५ हजार ६१ दशमलव २० मेट्रिकटन युरिया, ५ हजार ६ सय ९० दशमलव २० मेट्रिकटन डिएपि र ५ सय ४ दशमलव १० मेट्रिकटन पोटास विक्री भइसकेको उनले जानकारी दिए। हाल साल्ट ट्रेडिङसँग ५८ दशमलव ८५ मेट्रिकटन युरिया र ९१ दशमलव ७० मेट्रिकटन डिएपि मात्र मौज्दात रहेको छ। बाटोको अवरोध र ढुवानीको समस्याले पनि यस पटक डिएपि अभाव थपिएको उनले बताए।

हाल भैरहवामा रहेको पुरानो स्टकबाट ५ सय मेट्रिकटन थप मल उपलब्ध भएको र सो मल सहकारी मार्फत किसानलाई वितरण गर्ने काम भइरहेको उनले जानकारी दिए।

युरिया मलको अभाव नहुने दाबि

यस वर्ष धान रोपाईका बेला डिएपिको अभाव झेलेका सूदूरपश्चिमका किसानले युरिया मल भने सहजै पाउने दाबि मल वितरक संस्थाहरूले गरेका छन्। सामान्यतया धान रोपेको २५ दिनदेखि एक महिनाभित्र किसानले धानमा युरिया मल छर्ने गर्छन्।

आगामी एक साताभित्र यहाँका किसानलाई युरिया मलको आवश्यकता पर्ने छ। त्यो समयसम्म युरिया मल भित्रिसक्ने मल वितरक संस्थाहरूले जनाएका छन्।

प्रादेशिक प्रबन्धक बोगटीले साउन २–३ गतेभित्र सूदूरपश्चिममा युरिया पुग्ने जानकारी आफूले पाएको बताए। ‘हामीसँग अहिले पनि ३ सय ३० मेट्रिकटन युरिया मौज्दात छ,’ उनले भने, ‘धेरै किसानले डिएपिसँगै युरिया मल पनि लगिसकेका छन्। साउन २–३ गते थप युरिया यहाँ पुग्ने भएकाले डिएपिजस्तो अभाव युरियामा हुने छैन।’

साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीका प्रमुख तेजबहादुर कुँवरले पनि युरियामा डिएपिजस्तो अभाव नहुने बताए। धेरै किसानले अगावै धानका लागि चाहिने युरिया मल लगेर भण्डारण गरिसकेकाले थप समस्या नहुने उनको दाबि छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.