समाचार

मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु, चितवनदेखि कोहलपुरसम्म सहज हुने

By अर्जुन भट्टराई

मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु, चितवनदेखि कोहलपुरसम्म सहज हुने

काठमाडौं । तनहुँको मार्कीचोकस्थित न्यु मर्स्याङ्दी सब स्टेसनदेखि चितवनको आँपटारीस्थित न्यु भरतपुर सब स्टेसनसम्म जोडिएको २२० केभी डबल सर्किट प्रसारण लाइनबाट शनिबार दिउँसो ३ बजेदेखि विद्युत् प्रवाह सुरु भएको छ।

ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री विराजभक्त श्रेष्ठको प्रत्यक्ष पहलमा यो प्रसारण लाइन सञ्चालनमा आएको ऊर्जा मन्त्रालयले जनाएको छ। मन्त्री श्रेष्ठ आफैं फिल्डमा पुगेर स्थानीय पालिकाका जनप्रतिनिधि र स्थानीय बासिन्दासँग संवाद गर्दै यो लाइन सञ्चालनका लागि सक्रिय रहेका थिए।

यो प्रसारण लाइन सुरु भएसँगै चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्मका नागरिकले थप भरपर्दो विद्युत् सेवा पाउने छन्। विशेष गरी बारम्बार बत्ती जाने र ट्रिपिङको समस्यामा उल्लेखनीय कमी आउने अपेक्षा गरिएको छ।

“यससँगै क्षेत्रीय विद्युत् प्रसारण थप सन्तुलित, भरपर्दो र प्रभावकारी बन्नेछ। ट्रिपिङ तथा झ्याप–झ्याप बत्ती जाने समस्या न्यूनीकरणमा यो प्रसारण लाइनले महत्त्वपूर्ण योगदान पु¥याउनेछ,” मन्त्री श्रेष्ठले भने।

बर्खायाममा यस क्षेत्रका निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूले उत्पादन गरेको विद्युत् पहिले राष्ट्रिय प्रणालीमा जोड्न कठिनाइ हुन्थ्यो र पावर हाउसलाई कम क्षमतामा चलाउनुपर्ने बाध्यता थियो। अब यो प्रसारण लाइनमार्फत उत्पादित सम्पूर्ण विद्युत् भरतपुर हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा सहजै जोड्न सकिने मन्त्री श्रेष्ठले बताए।

मन्त्रालयका अनुसार निजी क्षेत्र र सरकारबिचको सहकार्यबाट अहिलेसम्म उपयोग हुन नसकेको स्वच्छ ऊर्जा अब राष्ट्रिय प्रणालीमा थप प्रभावकारी रूपमा समाहित हुनेछ। “यो नेपालको ऊर्जा आत्मनिर्भरता र समृद्धिको यात्रामा अर्को महत्त्वपूर्ण कदम हो,” मन्त्री श्रेष्ठले भने।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.