सर्लाही । विज्ञान विषयमा स्नातकोत्तर (एमएस्सी) उत्तीर्ण ३५ वर्षीय विवेक मण्डलले शुक्रबार आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटिया निवासी मण्डल अहिले काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत छन् । प्रहरीका अनुसार उनको शरीरको अधिकांश भाग जलेको छ ।
शुक्रबार दिउँसो घटना भएपछि मण्डललाई तत्काल प्रादेशिक अस्पताल मलङ्गवामा लगेर प्राथमिक उपचार गरियो । त्यहाँ थप उपचार सम्भव नभएपछि साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत कीर्तिपुरस्थित बर्न अस्पताल पठाइयो ।
विवेकको यो दुर्भाग्यपूर्ण कदमका पछाडि जागिर गुम्नु र लामो समयको बेरोजगारी नै मुख्य कारण रहेको परिवारले बताएको छ । उनका बुवा उपेन्द्र मण्डलका अनुसार विवेक करिब एक वर्षअघिसम्म महोत्तरीको गौशालास्थित एक विद्यालयमा शिक्षकको रूपमा कार्यरत थिए । तीन वर्षसम्म पढाएका विवेकलाई विद्यालयभित्रको राजनीतिक चलखेलका कारण जागिर छाड्न बाध्य बनाइएको परिवार र उनका नजिकका साथीहरूको भनाइ छ ।
जागिर गुमाएपछि विवेकले विभिन्न शैक्षिक संस्थामा रोजगारीका लागि प्रयास गरे, लोक सेवा आयोगको परीक्षामा पनि सहभागी भए । तर कुनै पनि प्रयास सफल भएन । उनकी श्रीमती रिनादेवी मण्डलका अनुसार बेरोजगारी लम्बिँदै जाँदा विवेक निराश बन्दै गए । आमाबुवाको सम्पत्ति खर्च गरेर उच्च शिक्षा हासिल गर्दा पनि उपलब्धि नपाएको भन्दै उनी बेलाबेला परिवारसँग दुःखेसो पोख्ने गर्दथे ।
उनकी आमा मन्टुटिया देवीका अनुसार आर्थिक अभाव र लामो बेरोजगारीका कारण विवेक मानसिक तनावमा परेका थिए र केही समयअघि उनको उपचार पनि गरिएको थियो ।
परिवारको आर्थिक अवस्था पनि कठिन छ । विवेकको पढाइ र घरखर्चका लागि गाउँघर र बैंकबाट लिएको ऋण गरी अहिले करिब ३५ लाख रुपैयाँ तिर्न बाँकी छ । विवेकका दाजु विगत चार वर्षदेखि कतारमा वैदेशिक रोजगारीमा छन् र तिनकै कमाइबाट घरखर्च र विवेकको उच्च शिक्षाको खर्च जुटाइएको थियो । एमएस्सी सकेर शिक्षकको जागिर पाएपछि परिवारले आर्थिक अवस्था सुधारिने आशा गरेको थियो, तर त्यो रोजगारी टिकेन ।
विवेकका श्रीमती, एक छोरा र एक छोरी छन् । छोरा हाल महोत्तरीस्थित मामाघरमा बसेर अध्ययन गरिरहेका छन् भने छोरी परिवारसँगै घरमा छिन् । पहिलेदेखि नै आर्थिक कठिनाइमा रहेको मण्डल परिवार अहिले विवेकको उपचार खर्चका कारण थप समस्यामा परेको छ ।
